Breaking News
मोतिपुरमा सुकुम्बासीमाथि गोली चलाउनु गलतः पूर्वप्रधानमन्त्री भट्टराई

चितवन, असोज २५–
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सुकुम्बासी माथि गोली चलाएर समस्याको समाधान नहुने बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पार्टी कार्यक्रममा सहभागि हुन जाने क्रममा आज (सोमबार) विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले आफ्ना माग राख्नेमाथि गोली चलाउनु लोकतन्त्रमा बर्जित र अशोभनिय कुरा भएको बताए । ‘अहिले बुटवलको मोतिपुरमा कतिपय हुकुम्बासी पनि होलान् तर त्यहाँ सुकुम्बासी पनि छन्, मुलत समस्या सामधान गर्नुको साटो उनीहरुमाथि गोली चलाउनु गलत छ’–डा.भट्टराइले भने ।
उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरेर दिगो समाधान गर्न सरकारसंग माग गरे । ‘सुकुम्बासी समस्या दिगो रुपमा समाधा गर्नैपर्छ, त्यसलाई तितरवितर पार्नु, गोली चलाउनु समाधान होइन’–डा.भट्टराईले भने । पूर्वप्रधानमन्त्री भट्टराईले सुकुम्बासी समस्या समाधन गर्ने कुरामा कुनै पनि सरकारको कहिल्यै पनि स्पष्ट नीति नभएको भन्दै अब गम्भिर भएर लाग्नु पर्ने बताए । ‘मैले आफ्ना पालामा सुकुम्बासीहरुको पहिचान गर्ने, बास्तविक सुकुम्बासीहरुको पहिचान गरेर समस्या समाधान गर्ने कोसिश काठमाडौंमा गरेको थिए’ डा भट्टराईले भने ‘मेरो छोटो अवधिमा मान्छेहरुले विरोध मात्रै गरे पुरा गर्न सकिएन ।’
यस्तै सत्ता घटक दलका अध्यक्ष समेत रहेका भट्टराईले मन्त्रीपरिषद् विस्तार सुरुमै विवाद पर्नु राम्रो पक्ष नभएको बताए । गठबन्धन सरकार केपी ओलीका प्रतिगमनविरुद्ध संघर्ष गरेर बनेको सरकार भन्दै ओली प्रवृति भन्दा फरक हुनुपर्नेमा न्यायलयसंग जोडिनु दुःखद घटना भएको बताए । उनल ओलीलाई नभई ओली प्रवृत्तिलाई नै परास्त गर्नुपर्ने बताए । उनले वर्तमान सरकार पुरा कार्यकाल चल्ने समेत दावी गरे ।
‘मन्त्रीपरिषद् विस्तार सुरुमै विवादमा पर्नु राम्रो होइन, ओली प्रवृत्ति घातक हो, त्यसले व्यवस्था नै पल्टाउने गणतन्त्र नै उल्टाउने संविधान नै खत्तम पार्ने दिशा उन्मुख थियो । त्यसलाई हामीले बचायौं हाम्रो गतिविधि त्यो भन्दा गुणान्तमक फरक भएन भने जनतामा निराशा आउँछ ।’–डा.भट्टराईले भने ।
























