Breaking News

अस्तव्यस्त भरतपुरको वाणिज्य बैंक : घण्टौंसम्म घाममा लाइन बस्न बाध्य सेवाग्राही (भिडियोसहित)

  • Logo
    app haru
  • २४ आश्विन २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज २४ –
भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंक अस्तव्यस्त बनेको छ । बैंकको व्यवस्थापन राम्रोसँग हुन नसक्दा बैंकमा सेवा लिन पुग्नेहरुले निकै सास्ती खेपिरहेका छन् । घाममा घण्टौसम्म लाइन बस्न बाध्य छन् सेवाग्राहीहरु ।

यतिबेला वाणिज्य बैंकमा दशैंका बेला पैसा निकाल्नेको भिड, नेपाली सेनाहरुको दर्खास्त खुलेकाले त्यसको भिड र पेन्सन निकाल्नेहरुको भिड छ ।

तर बैंकले भिड व्यवस्थापनमा कुनै चासो नदिएको सेवाग्राहीहरुले गुनासो गरिरहेका छन् । कुपन प्रणाली लागु नगरेर बैंकले जनतालाई दुःख दिन खाजेको सेवाग्राहीको दुखेसो छ । फुलपातीसम्म मात्र बैंक खुल्ने हुँदा पैसा निकाल्न नपाइने होकी भन्ने चिन्तामा पनि छन् सेवाग्राही ।

यस्तो अवस्थामा वाणिज्य बैंकमा व्यवस्थापन पक्षले कुशल व्यवस्थापन गर्न सकेको छैन । निजी बैंकहरुमा भिड व्यवस्थापनमा विविध उपाय अपनाइने गरेको भए पनि सरकारी बैंकमा हेल्चक्र्याईं गरिएको एक सेवा ग्राहीले गुनासो गरे ।

अर्की एक सेवाग्राहीले लाइनमा मानिसलाई घण्टौ राखे पनि भित्रबाट मान्छे पठाइरहेको देखेको बताइन् । तीन घण्टादेखि लाइन बसेको भए पनि आफ्नो पालो नआएको उनको दुखेसो थियो । उनी बैैंक बाहिर सडक पेटीमा घाममा लाइन बसिरहेकी थिइन् । ‘कुपन दिए तीन घण्टामा धेरै काम गरेर आउन सकिन्थ्यो’ उनले भनिन् ।

सेवाग्राही तीन घण्टासम्म घाममा लाइन बसिसक्दा पनि उनीहरु भित्र छिर्न पाएका छैनन् । बैंकभित्र छिरेपछि उस्तै भद्रगोल छ । भित्र पनि घण्टौ लाइन बसेपछि बल्ल काउण्टरमा पुग्न सकिन्छ । काउण्टरमा पनि निजी बैंकका काउण्टरभन्दा ढिलो काम हुने गरेको सेवाग्राहीहरुको गुनासो थियो ।

यसबारे बोल्दै बैंकका साहायक प्रमुख सन्तोष सोतीले भवन सानो हुँदा भिड व्यवस्थापन गर्न चुनौती थपिएको बताए । उनले चेक डिपोजिट गर्न आउनेहरुका लागि लाइनमा बस्न नपर्ने भएकाले उनीहरुलाई आउने बित्तिकै भित्र पस्न दिने गरिएको बताए ।

अहिले दैनिक ७/८ सयको हाराहारीमा सेवाग्राही आइरहेको उनले जानकारी दिए । सामान्य अवस्थामा ३/४ सयले दैनिक सेवा लिने गरेको उनको भनाइ छ ।

दशैंका बेला २ वटा काउण्टर थपेर ६ वटा बनाइएको उनले जानकारी दिए । सामान्य अवस्थामा तीन वटा काउण्टरले पुगे पनि अहिले ६ वटा काउण्टरले पनि पुगेको छैन । कर्मचारी अभाव भएकाले नयाँ काउण्टर थप्न नसकिएको उनको भनाइ छ । बैंकमा ४ वटा सुरक्षागार्ड रहेको उनले बताए । ४ जना सुरक्षा गार्ड उक्त भिड नियन्त्रणका लागि निकै कम हो । किनकी दुई जनालाई त ढोकामा उभ्याइएको छ ।

वाणिज्य बैंकको चितवनमा पुलचोक, पर्साढाप, टाँडी र माडीमा पनि शाखा रहेको बताउँदै प्रमुख सोतीले नजिक पर्नेहरुले आफ्नै क्षेत्रको बैंक प्रयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । उनले भरतपुरको उक्त वाणिज्य बैंक नेपालकै सबैभन्दा धेरै भिड हुने वाणिज्य बैंकमा तेश्रो नम्बरमा पर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>