राजनीति

ओली नेपालकै सबैभन्दा चतुर नेता: रन्जित रे

Banner

काठमाडौँ, असोज १९-

नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका ‘सबैभन्दा चतुर नेता’को संज्ञा दिएका छन् ।

साढे तीन वर्ष नेपालका लागि राजदूत रहेका रेले ‘काठमाडौँ डिलेमा: रिसेटिङ नेपाल–इन्डिया टाइज’ पुस्तकमा ओलीको बारेमा टिप्पणी गर्दै लेखेका छन्, ‘ओली एक चतुर राजनीतिज्ञ हुन्, सम्भवतः नेपालमा सबैभन्दा चतुर ।’ उनले ओलीलाई कम्युनिस्ट भएर पनि सकारात्मक विभेद र समावेशी विरोधी रूढिवादी नेताको रूपमा चित्रित गरेका छन् । उनले ओलीलाई शान्ति प्रक्रियाप्रति कम प्रतिबद्ध रहेको पनि बताएका छन् ।

‘मधेसी नेताहरूको आचोलना गर्ने ओलीले भारतले उनीहरूलाई किन सहयोग गरिरहेको छ भन्ने बुझेका थिएनन्’, रे लेख्छन्, ‘उनले मधेसी नेताहरूले भारतको लागि केही गर्न नसक्ने तर आफूले मात्र सक्ने बताए ।’

भारतीय मिडियाले ओली ‘चाइना क्याम्प’मा गएको भनी गरेको अनुमान उनले मन नपराएको र आफू कहिल्यै पनि भारतको विरुद्धमा जान नसक्ने बताएको रेले उल्लेख गरेका छन् ।

एक समय ओली भारतको सबैभन्दा ठूलो मित्र भएको उल्लेख गर्दै महाकाली सन्धिको बारेमा ओलीको भूमिकालाई लिएर रेले लेखेका छन्, ‘आफ्नो पार्टी विभाजनको मूल्य चुकाएरै पनि नेपालको संसद्बाट १९९६ को महाकाली सन्धि अनुमोदन गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । त्यति बेला वामदेव गौतम समूह छुट्टियो ।’

पछिल्लो समय ओलीले भारतविरोधी रणनीति प्रयोग गरेको रेको भनाइ छ । पहिले भारतमा उपचार गरेका ओली राष्ट्रवादी छवि बनाएपछि बैंकक र सिंगापुर जाने गरेको उल्लेख गरेका छन् । साथै, ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गरेको र जनताबाट प्रशंसा पाएको पनि उल्लेख गरेका छन् ।

नेपालको राष्ट्रपतिको भारतमा हुन लागेका राजकीय भ्रमण अकस्मात् रद्द गरिएकोलगायत विषय पनि उनले उल्लेख गरेका छन् । ओलीको पहिलो कार्यकालमा दुई देशबीचको सम्बन्धबारे रे भन्छन्, ‘ओलीको १० महिने कार्यकाल ओलीसँगको हाम्रो सम्बन्धहरूमा उल्लेखनीय अविश्वासहरूद्वारा धब्बा लाग्यो ।’

नेपालीले भारतले नाकाबन्दी गरेको आरोप लगाउने गरेको विषयलाई उनले ‘मधेसी नाकाबन्दी’ भनेका छन् । नेपालको संविधानको बारेमा भएको असझदारीलाई पनि रेले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>