Breaking News
इपीएलः चितवन टाइगर्सको लगातार चौथो जित, शीर्ष स्थानमा कायमै

चितवन, असोज १७
चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवन टाइगर्सले जितको सिलसिला कायमै राखेको छ । चितवनले आज साविक विजेता ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै लिगमा लगातार चौथो जित हात पारेको हो ।
ललितपुरले दिएको १०९ रनको लक्ष्य पछ्याएको चितवनले १६ बल बाँकी छदै ५ विकेटको क्षतिमा ११२ रन बनाउँदै जित हात पार्यो । चितवनको जितमा मोहम्मद शहजादले सर्वाधिक ३५ रन बनाए । २८ बल खेलेका शहजादले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै भिम शार्कीले २२ बलमा २७ रन, विरनदिप सिंहले १३ रन बनाए । दीलिप नाथ १६ र राजेश पुलामी ६ रनमा अविजित रहे । इशान पाण्डेको स्थानमा ओपनिङ व्याटिङ गर्न आएका खडक बोहरा शून्यमै आउट भए । ललितपुरका लागि रिजन ढकाल र ओमरजाईले समान २÷२ विकेट लिए भने योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा १०८ रन मात्रै बनाउन सक्यो । अघिल्लो खेलमा २ सय रन कटाएर इपीएल इतिहासमै सर्वाधिक रनको किर्तिमान बनाएको ललितपुरका व्याट्सम्यान चितवनका बलरसामु भने निरिह सावित भए । भारतीय खेलाडी जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए भने सन्दुन १४ र सूर्य तामाङले ११ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कप्तान कुशल भुर्तेल १ रनमै आउट भए ।
चितवनका लागि कमल सिंह ऐरीले कसिलो बलिङ गर्दै ४ ओभरमा एक मेडनसहित ११ रन खर्चिएर ३ विकेट लिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सागर ढकाल र करिम जन्नतले समान २/२ विकेट र साहब आलमले एक विकेट लिए ।
आजको जितसंगै चितवन चार खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्षस्थानमा कायमै छ । चितवनको रनरेट प्लस ०.७९७ रहेको छ ।
























