चितवन विशेष

भरतपुरमा १०० वर्ष कटेका १३ सहित १०० बढी ज्येष्ठ नागरिक सम्मानित

Banner

चितवन, असोज १५-

भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा १०० बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

उद्योग वाणिज्य संघ नारायणगढमा आयोजित एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच–पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यस्तै एक सय वर्ष नाघेका १३ जना ज्येष्ठ नागरिकलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा महानगर प्रमुख दाहालले ज्येष्ठ नागरिकको अधिकार प्राप्तका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताइन् । महानगरले ज्येष्ठ नागरिकका लागि सबै वडामा डे केयर सेन्टर निर्माणको योजना अघि सारेको समेत मेयर दाहालले बताइन् । ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताइन् ।

ज्येष्ठ नागरिकहरुलाई दिन बिताउनै समस्या भइरहेकोले महानगरले डे केयर सेन्टर निर्माणको योजना बनाएको उनको भनाइ थियो ।

उनका अनुसार अहिले विभिन्न वडामा ज्येष्ठ नागरिक भवन निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । ‘अहिलेको व्यस्त समयमा ज्येष्ठ नागरिकहरुको दैनिकी कष्टकर भइरहेको छ । उहाँहरु एक्लोपन महसुस गरिरहनु भएको छ, उनले भनिन्, ‘महानगरले यो विषयलाई गम्भीरताका साथ लिएको छ । यसैलाई ध्यान राख्दै हामीले सबै वडामा जेष्ठ नागरिक डे केयर सेन्टर निर्माणको योजना ल्याएका छौं ।’ डे केयर सेन्टरमा भजन कृतनसहित दिवाकालिन सेवा दिइने मेयर दाहालले बताइन् । यस्तै महानगरले ज्येष्ठ नागरिकहरुको अनुभव पुस्तान्तरण कार्यक्रमहरु पनि गरिरहेको उनले बताइन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले ज्येष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गरेका छन् । परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए प्रशासनले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो । ‘परिवार अथवा समाजबाट अपमानित, तिरस्कृत वा हेरचाह नहुने अवस्था आयो भने हामीलाई खबर गर्नुहोस् । हामी आवश्यक सहयोग गर्नका लागि तयार छौं, उनले भने, सम्झाई बुझाइ गरेर हुन्छ वा कसरी हुन्छ, हामी सहयोग गर्छौं ।’

ज्येष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमल्सिनाले महानगरले ज्येष्ठ नागरिकलाई गरेको सम्मान प्रशंसनीय भएको बताए । उनले ज्येष्ठ नागरिकहरुले राज्यबाट पाउनुपर्ने सबै सुविधा कार्यान्वयनका गर्न माग गरे । यस्तै उनले यथासीघ्र सबै वडामा जेष्ठ नागरिक केन्द्र स्थापना गर्न पनि माग गरे ।

कार्यक्रममा महानगर प्रमुख दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीलगायतले दोसल्ला, पौष्टिक आहार र एक\एक हजार रुपैयाँ यातायात खर्चसहित ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए । स्थानीय सरकार आएपछि कार्यक्रम नै गरेर महानगरले पहिलो पटक ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>