Breaking News
पशुपतिमा बाबालाई ‘गाँजा निकाल’ भन्दै खुकुरी हानेको आरोपमा भरतपुरका लामिछाने पक्राउ

चितवन, असोज १५
पशुपतिमा बाबालाई खुकुरी हानेको आरोपमा भरतपुरका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिका जगतपुर नयाँ बस्ती घर भएका लामिछाने गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि खुकुरी प्रहार गरी भागेको आरोप छ ।
पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खुकुरी प्रहार भएको थियो । शौचालय जाँदै गरेका उनलाई ताराबहादुरले ‘माल (गाँजा) निकाल’ भनेको प्रहरीले जनाएको छ । तर आफूसँग नभएको बताएपछि उनले पेटमा खुकुरी हानेर फरार भएका थिए।
खुकुरी प्रहारबाट घाइते भएपछि बाबालाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो । प्रहरीले घटनामा प्रयोग गरेको खुकुरी र झोला पनि बरामद गरेको छ ।
























