Breaking News
इपीएलः चितवनको लगातार दोस्रो जित, काठमाडौँ ३ विकेटले पराजित

काठमाडौँ, असोज १४–
राजेश पुलामी मगर र युवा अलराउण्डर कमल सिंह ऐरीले नटआउट ४७ रनको उत्कृष्ट साझेदारी गरेपछि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।
आज टियु मैदानमा भएको पहिलो खेलमा चितवनले काठमाडौँ किंग्स ११ लाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । इपीएलमा काठमाडौँविरुद्ध चितवनको भने पहिलो जित हो । यसअघि भएका दुई खेलमै काठमाडौं विजयी भएको थियो । आजको जितसंगै चितवन २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
काठमाडौंले दिएको १४२ रनको लक्ष्य पछ्याएको चितवनले ८ बल बाँकी छदै ७ विकेटको क्षतिमा पुरा गर्यो । ९५ रनमा ७ विकेट गुमाई सकेको अवस्थामा चितवनलाई जित दिलाउन राजेश र कमलले उत्कृष्ट प्रदर्शन गरे । राजेशले नटआउट २९ बलमा २६ रन बनाए । उनले २ छक्का प्रहार गरे । यस्तै कमलले १५ बलमा नटआउट २३ रन बनाए । उनले २ छक्का र एक चौका प्रहार गरे ।
यस्तै चितवनका लागि उपकप्तान दीलिप नाथले २३, करिम जन्नतले २१ र मोहम्मद शहजादले १७ रन बनाए । ओपनर इशान पाण्डे ४ रनमा आउट भए । ६ रनमा १ विकेट गुमाएको चितवनको पारी शहजाद र जन्नतले सम्हालेका थिए । यी दुईले ३२ रनको साझेदारी गरेका थिए ।
काठमाडौँका लागि रायन बर्लले २, जितेन्द्र मुखियाले २, सन्दीप लामिछाने, गुल्सन झा र जनक प्रकाशले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौं ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । अन्य व्याट्सम्यानले आज उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।
























