Breaking News
गैंडा तस्करीको आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक

चितवन, असोज १२–
गैंडा तस्करीको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ८ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
गत साउन ३२ देखि भदौं १० गतेसम्ममा चार वटा गैंडा मारी खाग विक्री गरेको ओरोप पक्राउ परेकाहरुलाई आज (मंगलबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले विभिन्न चुनौतिका बाबजुत उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।
पक्राउ पर्नेमा एकै घरका मकवानपुरको मनहरी गाउँपालिका–४, मसिने टोंग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा, ३६ वर्षीय सिंहराम प्रजा र सुरेश प्रजा रहेका छन् ।
यस्तै अन्य पक्राउ पर्नेमा नवलपरासी पूर्व गैंडाकोट–१ का ३२ वर्षीय गोपाल सारु, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका ९ का २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरी–४ नयाँबस्ती बस्ने २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरुलाई चितवन जिल्ला अदालतमा २ वटा मुद्धा दायर गरिएको छ भने अझै २ वटा मुद्धा दायरको प्रक्रियामा रहेको वार्डेन बरालले जानकारी दिए ।
निकुञ्जले चार वटा गैंडा मार्नमा संलग्न भएका १७ जना मध्ये ८ जना पक्राउ परेकोमा ९ जना अझै फरार रहेको जनाएको छ । निकुञ्जका अनुसार चालु आर्थिक वर्षमा गैंडा मुद्धामा १४ जना पक्राउ परि सकेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २८ जना र हालका १४ जना गरी ४२ जना पक्राउ परि सकेका छन् ।
























