चितवन विशेष

चितवनका सुमित जो २३ वर्षको उमेरमै नेपाली चलचित्रको सहायक निर्देशक बने

Banner

मधुसूदन दवाडी

चितवन, असोज १०-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट कक्षा ११ पढ्दादेखि अभिनय यात्रा सुरु गरेका भरतपुरका सुमित आचार्य अहिले ठूलो पर्दाको नेपाली चलचित्रको सहायक निर्देशकको रुपमा अनुबन्ध भएका छन् ।

जो कोही चलचित्र निर्देशन क्षेत्रमा लाग्नु त सामान्य कुरा नै हो । तर, सुमित भर्खर २३ वर्ष लागेका छन् । नत उनको परिवारमा कोही चलचित्र क्षेत्रमा छ, नत उनको परिवार नै सम्पन्न खालको हो । उनी त ११ कक्षामा पढ्दादेखि अभिनय सिक्दै आफ्नो पढाइ र कामलाई पनि अगाडि बढाए । भर्खरै आमसञ्चार विषयमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाटै बीए पूरा गरेका उनी हालसालै नेपाली कथानक चलचित्र ‘ग्रीन बर्ड’ मा अनुबन्ध भएका छन् । पारिवारिक कथानक यस चलचित्रको निर्देशक तथा कथाकार प्रमोद कँडेल छन् भने चलचित्रको केन्द्रीय भूमिकामा सुरक्षा पन्त छन् । चलचित्रलाई निगम श्रेष्ठले डिजाइन र छायांकन टोलीमा भारतका कात्तिके कर्नाटक र भारद्वाज महिता रहेका छन् । चितवनमा नै छायांकन गरिएको यो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवहरुमा प्रदर्शन गरेपछि चलचित्र भवनहरुमा प्रदर्शन गर्ने निर्माण पक्षले बताएको छ ।

सुमितको ‘ग्रिन बर्ड’ नै पहिलो प्रोजेक्ट भने होइन यसअघि उनले झण्डै एक दर्जन नाटक र चलचित्रमा अभिनय गरिसकेका छन् । युट्युबमा पनि उनको धाराबाहिक श्रृंखलाहरु प्रसारित भएका थिए । चरनदास चोर, बहुलाकाजीको सपना, श्रीमानवीरबहादुर जस्ता नाटकमा अभिनय गरिसकेका सुमितले देशका विभिन्न ठाउँमा पुगेर लगभग १०० वटा सडक नाटक गरिसकेका छन् ।

उनी हालसालै चर्चित कलाकार दीपकराज गिरीको सानो पर्दाको टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’ मा पनि सहायक निर्देशकको रुपमा काम गरिरहेका छन् । दीपकको सो कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । सुमितले क्राइम पेट्रोलको दुई श्रृंङ्खलाको सहनिर्देशन गरि सके ।

‘क्राइम पेट्रोल नेपाल’ होष्टसहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । श्रृंखलाकाअनुसार निर्देशक परिवर्तन देख्न सकिनेछ । ‘क्राइम पेट्रोल नेपाल’ मा प्रसारण हुने श्रृंखलाका कथा प्रहरीले अनुसन्धान गरेर सफलता हात पारेको कथा बन्ने छन् ।

बाग्लुङको जैमिनी स्थायी ठेगना भएका सुमितको परिवार भरतपुरको हुलाक चोकमा बसोबास गर्दथ्यो । भर्खरै उनीहरु गैँडाकोट बस्न थालेका छन् । कुनै बेला चितवनको नारायणी अनलाइनमा समेत काम गरेका सुमितले भने, ‘ अनलाइनको समाचार कक्षमा सधै अफिसमा बसेर काम गर्दा दिक्क भएर केही नयाँ काम गर्ने चाहनाले चलचित्र क्षेत्रमा जोडिन पुगेँ । मलाई कार्यालयभित्र गरिरहने काम भन्दा बाहिर हिडे्ने र डुल्ने काम बढी रमाइलो लाग्छ । अहिले मैले आत्मसन्तुष्टि पाएको छु ।’ उनले अनलाइनकै समाचारमा चलचित्र कार्याशालाबारे समाचार देखेपछि आफू कार्यशालामा सहभागी हुन गएको अनुभव सुनाए । अब जीवनभर चलचित्र क्षेत्रमा नै लाग्ने सुमितले निधो गरिसकेका छन् । अभिनयका लागि कहिले कतै कहिले कतै डुलिरहने सुमित पढ्नमा पनि त्यत्तिकै अब्बल विद्यार्थी थिए । उनले स्नातक तह प्रथम श्रेणी नै ल्याएर उर्तीर्ण गरेका छन् ।

सप्तगण्डकीमा पढ्दै गर्दा भरतपुरकै निर्वाना चलचित्र स्कुलबाट उनले चलचित्र निर्देशक र अभिनय तालिम पनि लिएका थिए । त्यसअघि उनले भारतको केरलामा विद्यालय पढ्दा नाटकमा बालकलाकारको भूमिका निभाएका थिए । बाग्लुङबाट कामको खोजीमा बुबाआमा भारतको केरला पुगेको समयमा उतै जन्मिएका हुन् । अहिले चलचित्र निर्माण टोलीमा उनी सबैभन्दा सानो उमेरका सहायक निर्देशक हुन् । उनले हास्दै नारायणी अनलाइनलाई भने, ‘ कलाकार एक जना भाई मात्र म भन्दा सानो उमेरका छन् तर निर्माण युनिटमा म नै सबैभन्दा सानो उमेरको व्यक्ति हुँ ।’ यो फिचर तयार पार्दा उनी भरतपुरको आस्थाचोकमा पानी ट्याङ्की नजिक चलचित्रको निर्देशनमा नै व्यस्त थिए । भन्दै थिए, ‘म अहिले क्यामरा रोलिङ भइरहेको  छ।’ उनी चलचित्रको काम सकेर फेरि ‘क्राइम पेट्रोल’ को सहनिर्देशनमा जुट्ने बताएका छन् । सुमित भन्छन्, ‘चलचित्र क्षेत्रमा लागेर घरपरिवार सबै चलिरहेकै छ । यसमै आनन्द आइरहेको छ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>