Breaking News

तरकारीमा तहतहका बिचौलिया,किसान र उपभोक्ता दुवै पीडित

Banner

काठमाडौं,असोज ५-

काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आफ्नो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।

उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०/४० रुपैयाँ थमाउँछन् । किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन् ।’

त्यसो त किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् । तर, बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’

किसान र उपभोक्ता दुवै पीडित

त्यसैले किसानहरू बिचौलियाले भनेको मूल्यमा तरकारी दिन बाध्य छन् । तरकारी बिचौलियाको कब्जामा छ । बिचौलियाको हातमा बजार भएकाले न त किसानले लागतअनुसारको मूल्य पाउँछन् न त उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् ।

किसान लुइँटेल थप्छन्, ‘आजभोलिकै कुरा गर्ने हो भने व्यापारीले हामीबाट बोडी प्रतिकिलो ४० रुपैयाँमा लिन्छन् । किसानबाट ४० रुपैयाँमा लिएको तरकारी बीचमा भाडा, ज्याला जोडेर उपभोक्ताले कम्तीमा ६० देखि ६५ रुपैयाँमा पाउनुपर्ने हो । तर, उपभोक्ताको चुलोसम्म पुग्दा १ सय ५० रुपैयाँ पुगिसकेको हुन्छ । यो सुन्दा दुःख लाग्छ ।’

अहिले बिचौलियाले किसानको बारीबाट गोलभेंडा प्रतिकिलो १० देखि १५ रुपैयाँमा किन्ने गरेका छन् । तर, उपभोक्ताको चुलोसम्म पुग्दा प्रतिकिलो ६० रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>