Breaking News

युरोपको लाखौं आम्दानी छाडेर चितवन कांग्रेस राजनीतिमा होमिए रेग्मी, भन्छन्: म देश बनाउँछु

Banner

मधुसूदन दवाडी

चितवन, असोज २

नेपालको जागिर र व्यवसाय छाडेर युरोप र अमेरिकाका पीआर रोज्नेहरु त नेपालमा धेरै नै छन् तर उताको सारा कमाइ र पीआर छाडेर नेपाल फर्कने भने कमै भेटिन्छन् । तीनै मध्येका एक हुन् भरतपुर महानगरपालिका–१८ (गुञ्जनगर) शशीनगरका कृष्णप्रसाद रेग्मी । उनी अहिले बेल्जियमको दुई दशक सम्मको व्यवसाय, पेसा र प्रतिष्ठा सबै त्यागेर चितवन कांग्रेसको राजनीतिमा होमिएका छन् ।

रेग्मीले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा भरतपुर महानगरको उपसभापतिको उम्मेदवारी घोषणा गरेका छन् । सानो उमेरदेखि कांग्रेस राजनीतिमा सक्रिय रेग्मी विसं २०५६ सालमा युरोपको बेल्जियम कामको सिलसिलामा प्रवेश गरेका थिए । अर्थशास्त्रमा पाटन बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका रेग्मी बैँक अफ सिलोनमा काम गर्दा गर्दै युरोप गएका हुन् । राजनीति र समाजसेवाको रहरले गर्दा उनी युरोपमा पनि राजनीति र समाजसेवामा सक्रिय भए । बेल्जिएमको सबैभन्दा ठूलो राजनीतिक दल एनभीएमा आवद्ध भएर ग्रोबेन्डोक शहरको संगठन विभाग प्रमुख भएर उनले काम गरेका थिए । उनी पछिल्लो समय त्यस शहरको वातावरण सल्लाहकारको रुपमा काम गरेका थिए । अहिले उनी सबै पद र प्रतिष्ठा छाडेर चितवनमा कांग्रेस महानगर उपसभापतिका लागि सबै नेता तथा कार्यकर्ताहरुसँग मत माग्न हिजोआज व्यस्त भएका छन् ।

रेग्मीले नारायणी अनलाइनलाई भने, ‘म पैसा कमाउनको लागि चितवन कांग्रेसको राजनीतिमा आएको होइन । म देश र चितवनको लागि केही गरेर देखाउन चाहन्छु । मेरो बेल्जियममा होटल व्यवसाय छ । परिवारका सदस्यले व्यवसाय हेरिरहेका छन् । मैले पनि मासिक पाँच लाख कमाइ छाडेर चितवन आएको छु ।’

रेग्मीले विभिन्न कामको सिलसिलामा विश्वका ५२ देशको भ्रमण गरिसकेका छन् भने नेपालमा पनि ५७ जिल्ला पुगेर सबै जिल्लामा विकासको सम्भावना बुझिसकेका छन् । उनले नै युरोपका शहरहरुको वातावरण व्यवस्थापनबारे जानकारी दिन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीसहितको प्रतिनिधि मण्डललाई बेल्झियम लगेर अवलोकन भ्रमण गराएका थिए । विदेशमा रहँदा पनि उनले आम्दानीको केही प्रतिशत चितवनको सामाजिक सेवामा खर्च गर्दै आएका थिए । कालिका नगरपालिकामा २२ वर्ष ओडारमा बसेका रुपसिंह चेपाङलाई उनले नै घर बनाइदिएर राखिदिए ।

रेग्मीले भने, ‘आज लाखौं नेपाली विदेशमा छन् । म यसरी देशमा आएर केही गर्न खोज्दा सबैको साथ र सहयोग पाएँ भने भोलि अन्य युवाहरु पनि देश फर्कने वातावरण बन्नेछ ।’ उनले कांग्रेस पार्टी संगठनलाई सुधारेर अगाडि बढ्ने प्रतिबद्धता लिएर नेपाल फर्किएकोले अत्यधिक मतका साथ आफूले महानगर उपसभापतिमा जित्ने दाबी पनि गरे । उनले भने, ‘ अब म विदेश जान्न देशमा नै केही गरेर देखाउँछु । बाध्यताले विदेशिएका नेपालीहरु देश फर्कने वातावरण बनाउँछु ।’

रेग्मीलाई नजिकबाट चिन्ने नेदरल्याण्डमा बसेर पत्रकारिता र व्यवसाय गर्ने भरतपुरका वेदराम कँडेलले रेग्मीजस्तो विज्ञ व्यक्तित्व चितवनको कांग्रेस पार्टीले पाउनु समग्र चितवनबासीकै लागि गौरवको विषय भएको बताए । उनले भने, ‘ बेल्जियममा स्थायी बसोबास गर्नुभएको रेग्मी स्थानीय (निर्वाचन)मा नगरपालिकाको चुनावमा २०१८–२०१९ मा उपविजेता हुनुभएको थियो । उहाँलाई अहिले सामाजिक सञ्जालमार्फत् चितवनको कांग्रेस राजनीतिमा उपसभापति पदको उम्मेदवारी दिने भन्ने थाहा पाए । युरोपको प्रतिष्ठित शहरको वातावरण सल्लाहकार भइसकेको मानिस भरतपुर महानगर जानुभएछ । धेरै खुसी लाग्यो ।’
गुञ्जनगर हाइस्कुलबाट प्ररम्भिक शिक्षा सुरु गरेका रेग्मीले लमजुङको भार्तेबाट एसएलसी उतीर्ण गरी, वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईए, त्रिचन्द्र क्याम्पस काठमाडौँबाट बीए गर्दै पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा एमए गरेका हुन् । उनले युरोपमा बसेर सरकारको सल्लाहकारको काम गरेको अनुभवको आधारमा भोलिका दिनमा अवसर पाएमा भरतपुर महानगरलाई वातावरण व्यवस्थापन र विकासका हिसाबले विश्वकै प्रतिष्ठित शहरको रुपमा विकसित गर्न सकिने अठोट गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>