Breaking News

पर्यटकको पर्खाइमा सौराहा, होटलहरु धमाधम दसैँतिहार अफर ल्याउँदै

Banner

चितवन, भदौं ३१-

लकडाउनका कारण वैशाखदेखि बन्द भएको सौराहाको पर्यटकीय गतिविधि फेरि पुनः सञ्चालनमा आउने तरखर गर्दै छ ।

सौराहाका होटलहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई विभिन्न अफर ल्याएर प्रचारप्रसारमा जुट्न थालेपछि गतिविधि फेरि बढ्ने आशा गरिएको हो । स्वास्थ्य मापदण्ड कायम गरेर सबै पर्यटन व्यवसाय र पर्यटकीय गन्तव्य खोल्ने तयारी भएको छ । क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले अब केही पर्यटकहरुको संख्या बढ्छ कि भनेर पर्खाइमा रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बाह्य पर्यटक तत्काल बढ्ने सम्भावना कम भए पनि आन्तरिक पर्यटक बढ्छ भन्ने आशा छ । सेप्टेम्बर १५ बाट पर्यटकीय सिजन सुरु हुने गर्दथ्यो तर अहिले आफूहरुलाई सिजन आएको जस्तो नै भएको छैन ।’ उनले होटलहरु सबैले दसैँतिहारलाई लक्षित गरेर अफरहरु ल्याउन थालेको बताए ।

कोरोनाका कारण लामो समय व्यवसाय बन्द हुँदा पर्यटन उद्योग धराशयी हुने अवस्थामा पुगेको सौराहाका व्यवसायीहरु बताउँछन् । यसैले अब स्वास्थ्य मापदण्ड कायम गरेर व्यवसाय खोल्नुको विकल्प नरहेको उनीहरुको भनाइ छ । रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले पर्यटकीय मौसम सुरु हुन लागेपनि अहिलेसम्म लकडाउनले यस क्षेत्रलाई निराशाजनक बनाएको बताए । उनले संस्थागत भन्दा पनि व्यक्तिगतरुपमा होटल तथा रेष्टुरेन्टहरुले दसैँतिहारलाई लक्षित गरेर विभिन्न छुटका अफरहरु ल्याउने गरेको बताए । उनले भने, ‘ सरकारले विशेष व्यवस्था नगरेसम्म बाह्य पर्यटकहरु आउने सम्भावना निकै कम छ । सरकारले खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्ने झन्झट हटाएर हवाइ यातायात पहिलेकै अवस्थामा सुचारु गरेमा मात्र पर्यटक आउन सक्ने सम्भावना बढ्छ । ’ सरकारले यसतर्फ ध्यान नदिने हाम्रो आशा भनेको आन्तरिक पर्यटक नै हुन् ।’  चितवन राष्ट्रिय निकुञ्ज घुम्न, थारु संस्कृति र परम्पराको बारेमा अध्ययन गर्न र शहरको भीडभाडबाट अलग भएर शान्त वातावरणमा बस्न पर्यटकहरु सौराहा आउने गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>