Breaking News

भरतपुर अस्पतालमा बागमती प्रदेशका मन्त्रीद्वय सुवेदी र कटुवालद्वारा अवलोकन, समस्या समाधान गर्न सक्दो पहल गर्ने भनाइ

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ ३१ –
भरतपुर अस्पतालमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदी र स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवाल क्षेत्रीलाई स्वागत गरिएको छ ।

बिहीबार भरतपुर अस्पतालले मन्त्रीद्वयलाई स्वागत कार्यक्रम राखेको थियो । मन्त्री सुवेदी भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष हुन् ।

कार्यक्रममा भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले अस्पतालमा रहेका विभिन्न समस्याहरु सुनाउँदै समस्या समाधानमा गर्न माग गरेका थिए । ढल निकास, फोहोर व्यवस्थापन र खानेपानी व्यवस्था गर्न भरतपुर अस्पतालमा समस्या भइरहेको बताउँदै डा पौडेलले यस समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरे ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले संघीयता स्वास्थ्य क्षेत्रमा निकै अलमल देखिएको बताए । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको स्वास्थ्य क्षेत्रप्रतिको जिम्मेवारीलाई प्रष्ट पार्नुपर्ने उनले बताए । सबै सरकारले स्वास्थ्य क्षेत्रमा एकमुष्टरुपमा काम गर्नुपर्ने आवश्यकता देखिएको उनले औंल्याए ।

भरतपुर अस्पताल धनी बाउको सुकुम्बासी छोरा जस्तो भएको बताउँदै उनले जग्गा हुँदाहुँदै पनि अरुलाई बाँडेका कारण आफ्नै संरचना बनाउन जग्गा अभाव हुन थालेको बताए । सिटीभिटीलाई दिइएको जग्गा भरतपुर अस्पतालले उपभोग गर्न पाउने गरी छिटो प्रबन्ध मिलाउन आग्रह गर्दै उनले त्यसो नभए अस्पताल कानुनी बाटोमा जाने चेतावनी दिए ।

भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पताल भनि संघ सरकारले हेर्ने गरी विशिष्टकृत अस्पतालमा राखिएको छ । बिरामीको चाप धेरै र डाक्टर तथा अन्य संरचनाको कमीले सबै बिरामीलाई धेरै समय दिन नसकिएको डा अधिकारीको भनाइ छ ।

कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले अस्पतालको यथास्थिति बुझ्न स्वास्थ्यमन्त्रीसँगै आएको बताए । भरतपुर अस्पतालमा ढल निकास र फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण रहँदै आएको बताउँदै उनले यसको सहज व्यवस्थापको उपायमा छलफल गरी छिट्टै समस्या समाधान गर्न पहल गर्ने बताए ।

स्वास्थयमन्त्री कटुवालले भरतपुर अस्पतालमा सरुवा रोगको भवन बनाउन ४ कठ्ठा जग्गा अभाव भएको कुरालाई गम्भीर रुपमा लिएको बताए । आफ्नै जग्गा अरुले ओगटेको अवस्था रहेको बताउँदै उनले यो समस्या समाधान गर्न लाग्ने बताए । अस्पतालका अन्य समस्या समाधान गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि विजय सुवेदीले चितवनमा समग्र विकास कसरी गर्न सकिन्छ भनेर अवलोकन भ्रमण गरिरहेका छन् । दैनिकजसो चितवनका विभिन्न स्थानमा गएर उनले वस्तुस्थिति बुझिरहेका छन् । भरतपुर अस्पतालबाट निस्केपछि मन्त्री सुवेदी जिल्ला शिक्षा समन्वयन समितिमा गएर चितवनको शिक्षाको अवस्थाका बारेमा जानकारी लिएका थिए । विजय सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>