क्रिकेट
भारतीय प्रशिक्षक सिंह चितवन टाइगर्सको टोलीमा, द्रुत गतिमा प्रशिक्षण चल्दै

काठमाडौँ, भदौ ३०–
चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि चितवन टाइगर्सको तयारी जोडतोडका साथ चलिरहेको छ । दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहसहितको कोचिङ टिमद्वारा सुरु गरिएको प्रशिक्षण द्रुत गतिमा छ । ४० वर्षे सिंह अनुभवी र सर्टिफाइट प्रशिक्षक हुन् । असोज ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलका लागि चितवनले उनलाई टोली व्यवस्थापक र सहयाक प्रशिक्षकको भुमिकामा नियुक्त गरेको थियो ।
सेप्टेम्बर १० मा काठमाडौं आइपुगेका सिंह प्रमुख प्रशिक्षक सामसन जंग थापाको प्रशिक्षण टोलीमा समावेश भएका थिए । सिंह र थापासहित टिम मेन्टर पुर्नेन्दु घोषले चितवन टाइगर्सको टोलीलाई डिएभी कलेज र ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रशिक्षण ओराल्दै नेट सेसन्स, मेन्टल कन्डिसनिङ, टिम सामन्जस्य, म्याच अभ्यास र सिनारियो प्रशिक्षण गराइरहेका छन् ।
क्रिकेटरलाई प्रेरित गर्नु नै सफलताको सुत्र मान्दै सिंह भन्छन्, ‘क्रिकेट पछाडिको विज्ञानले मलाई आफै विकसित गर्न र भावि पुस्तालाई त्यो ज्ञान प्रदान गर्न प्रेरित गर्दछ । मानसिक रुपमा हरेक युवा क्रिकेटरलाई उत्कृष्ट हुनका लागि मनोबल बढाउन आवश्यक छ ।’
सिंह र प्रशिक्षण टोली क्रिकेटरले गरिरहेको प्रशिक्षणबाट प्रभावित छन् । विशेष गरी अभ्यास म्याचको कमि नेपालको घरेलु क्रिकेटमा ठुलो चुनौतीको रुपमा रहेको छ । ‘हामीले केही विधिहरु बनाएका छौं, जसले खेलाडीलाई म्याच सिनारियोको अनुभुति दिलाउने छ । खेलाडीहरु पहिलो खेलका लागि विस्तारै मानसिक र शारीरिक रुपमा फिट हुनेछन्,’ सिंहले भने ।
दिल्लीका पूर्व रणजी खेलाडी सिंह आईसीसी लेभल टु प्रशिक्षक हुन् र उनले गौतम गम्भिर, वीरेन्द्र सहवाग, युवराज सिंह, आशिष नेहराजस्ता नामसँग मिलेर कार्य गरिसकेका छन् ।
‘युवा नेपाली खेलाडी र अनुभवी अन्तर्राष्ट्रिय खेलाडीको समिश्रणले टिम यसअघिको सिजनभन्दा अहिले राम्रो देखिएको छ, सिंहका साथ विदेशी नेतृत्वले हामीलाई रणनितिक दायरा फराकिलो बनाउन मद्धत गरको छ । यसपटक पनि राम्रो प्रदर्शन गर्नेमा हामी उत्साहित छौं,’ मुख्य प्रशिक्षक थापा भन्छन्।
ट्यालेन्ट हन्टबाट आएका खेलाडीसहित कुल १६ खेलाडी अहिले प्रशिक्षणमा व्यस्त छ ।























