Breaking News
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम, ६ महिनामा सकिने

पोखरा, भदौं २६-
कोरोना भाइरस संक्रमणका कारण तोकिएको समयमा निर्माण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने भएको छ ।
विमानस्थलभित्रका महत्वपूर्ण सबै संरचना निमार्ण भइसकेका छन् । निमार्णाधिन विमानस्थलमा अब फिनिसिङको काम मात्र बाँकी रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार रनवे, ट्याक्सी वे, एप्रोन, जहाज पार्किङ, ह्याङकर, कन्ट्रोल टावर, कार्गो विल्डिङ लगायतका भौतिकतर्फको सबै काम भएका छन् । विमानस्थलको झन्डै ८३ प्रतिशत काम सम्पन्न भइसकेको पौडेलले जानकारी दिए ।
यस्तै आवश्यक स्टेसनहरु समेत बनिसके पनि प्रविधिको जडान गर्न मात्र बाँकी रहेको उनले बताए । ‘अब १७ प्रतिशत मात्र काम बाँकी छ । महत्वपूर्ण संरचना बनिसकेका छन् । स्टेसनमा उपकरण जोडे त्यो पनि सकिन्छ,’ उनले भने ।
करिब साढे २१ अर्ब रुपैँया लगानीमा बन्न लागेको विमान स्थल सन् २०१७ जुलाईमा सुरु भई २०२१ जुलाइमा सम्पन्न हुने सम्झौता भए पनि कोरोना महामारीका कारण एकवर्ष पछि धकेलिएको हो ।
एकवर्षका लागि म्याद थप भएपनि चिनियाँ निर्माण कम्पनी सिएएमसीले कोरोना महामारीका कारण काममा असर परेको भन्दै एकवर्षका लागि समय थप्न आग्रह गरेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले एक वर्षका लागि समय थपिदिएको छ । आगामी २०२२ जुलाई १० मा विमानस्थल सक्ने लक्ष्य भए पनि धेरैजसो काम सकिएकोले त्यो भन्दा अगावै काम सकिने पदाधिकारीको आँकलन छ ।
























