Breaking News

चितवन एमालेको समानान्तर कमिटी भोलिबाट एकीकृत समाजवादीमा रुपान्तरण हुँदै

Banner

चितवन, भदौं २४-

चितवनमा गत चैतमा गठन भएको नेकपा एमाले माधव नेपाल पक्षको समानान्तर कमिटी भोलिबाट एकीकृत समाजवादीमा रुपान्तरण हुने भएको छ ।
एमाले चितवनका नेता तेजेन्द्र खड्काको अध्यक्षतामा गठन भएको सो नेपाल पक्षीय समानान्तर कमिटीले भोलि शुक्रबार १२ बजे बैठक राखेर एकीकृत समाजवादीमा रुपान्तरण हुने जनाएको हो ।

समानान्तर कमिटीका अध्यक्ष खड्काले भोलिको बैठकमा छलफल गरेर नेकपा एकीकृत समाजवादीमा रुपान्तरण हुने नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ समाजवादी जिल्ला कमिटीमा को को रहनुहुन्छ त्यो भोलि नै थाहा हुन्छ तर भोलिको बैठकबाट हामी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रुपान्तरित हुँदै छौं ।’ यसअघि दुई हप्ताअघि उनले नारायणी अनलाइनसँग कुरा गर्दै १० बँुदेको कार्यान्वयन हुन्छ वा हुँदैन त्यसको आधारमा एमालेमा नै रहने वा समाजवादीमा जाने निर्णय हुने जनाएका थिए । उनले भनेका थिए, ‘ हामी पर्ख र हेरको अवस्थामा छौं ।’

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युताँएपछि सुरु भएको एमालेभित्रको विवाद प्रदेश र जिल्ला हुँदै तल्लो निकायसम्म पुगेको थियो । पार्टीभित्रको खनाल–नेपाल समूहले चितवनमा खड्काको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको थियो । प्रधानमन्त्री केपी ओलीले २८ फागुनमा खनाल–नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेलगत्तै यो समूहले समानान्तर कमिटीको अभ्यास थालेको हो ।

गत १९ चैतमा चितवनका एमाले नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशको २२ सदस्यीय कमिटी घोषणा भएको थियो तर उनी अहिले एमालेमा नै रहेका छन् । अहिलेकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यको संयोजत्कवमा बागमती प्रदेशमा १७५ सदस्यीय कमिटी घोषणा भएको थियो । उनी पनि एमालेमा नै छन् । समानान्तर कमिटी गठन सुरु भएसँगै चितवनमा कृष्ण खनाल इन्चार्ज तोकिएका थिए । खनालले भने एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको रुपमा निर्वाचन आयोगमा पुगेर सनाखत गरेका थिए । चितवनका विभिन्न स्थानीय तहमा गरेर ३६ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । त्यसमध्ये कतिपयले सनाखत फिर्ता लिएको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>