Breaking News
चितवनमा ३६ जनप्रतिनिधि माधव नेपालको पार्टीमा, कुन स्थानीय तहबाट कति ?

चितवन, भदौं २२-
चितवनमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने स्थानीय जनप्रतिनिधिहरुको संख्या ३६ पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार चितवनका सात स्थानीय तहहरुमा भरतपुर, माडी, राप्ती र रत्ननगरका केही जनप्रतिनिधिले समाजवादी रोजेका छन् । जुन प्रतिशतको आधारमा धेरै न्यून हो । दल रोज्ने अन्तिम दिन आज साँझ पाँच बजेसम्म ११ जना वडा अध्यक्षसहित २५ जना वडा सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार पाँच जना जनप्रतिनिधिले सनाखत गरेर पनि सनाखत फिर्ता लिएका छन् । जसमा रत्ननगरका चार जना र भरतपुरका एक जना रहेका छन् ।
नेकपा एमाले त्यागेर एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरुमा भरतपुर महानगरपालिकामा पाँच वडा अध्यक्ष र वडा सदस्यहरु १० जना, रत्ननगर नगरपालिकामा चार वडा अध्यक्ष र सदस्यहरु गरेर १२ जना, राप्ती नगरपालिकामा एक वडा अध्यक्ष र एक जना सदस्यरहेका छन् भने माडी नगरपालिकामा एक वडा अध्यक्ष र दुई सदस्यले एकीकृत समाजवादी रोजेका छन् । कालिका नगरपालिका,खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा कसैले पनि एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।
नयाँ दर्ता भएको दल रोज्न जनप्रतिनिधिलाई दिइएको समय सीमा आज सकिएको छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि निर्वाचन आयोगले दल दर्ता भएको मितिले २१ दिनको अवधि तोकेको थियो ।
नवगठित नेकपा एकीकृत समाजवादीलाई भदौ ९ मा आयोगले दलको मान्यता दिएको थियो । यो बीचमा नवगठित दल रोजेका जनप्रतिनिधिको पद यथावत रहनेछ ।
नयाँ दल प्रवेश गर्न चाहेका एमालेका प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित भइ सनाखत गरेका छन् ।
























