Breaking News
चितवनमा राति १२ बजेसम्म रात्रिकालिन व्यवसाय संचालन गर्न दिनुपर्ने माग

चितवन, भदौ २०–
चितवनका रात्रीकालिन व्यवसायीहरुले सहज रुपमा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग राखेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुको माग अनुसार व्यवसाय संचालन गर्न नपाए बाध्यभएर तालाचाबी प्रशासनलाई बुझाउने चेतावनी दिए ।
भरतपुर–१० मा रहेको स्नुक्स पब एण्ड क्याफेका संचालक अच्युत भट्टले राती १२ बजेसम्म व्यवसाय संचालन गर्न पाउनुपर्ने बताए । उनले एउटै प्रदेश भित्रको काठमाडौँमा रात्रीकालिन व्यवसाय संचालन गर्न पाउने तर चितवन अवरोध गर्नु जायज नभएको बताए । उनले राति १२ बजेसम्म संचालन अनुमति नदिए चितवनका सबै रात्रिकालिन व्यवसायीहरुले तालाचाबी प्रशासनलाई बुझाउने चेतावनी दिए । ‘हामी सबैबाट चेपुवामा परेका व्यवसायी हौं, हाम्रो मुख्य व्यवसायको समय नै राति हो, यस्तो बेला बन्द गरेपछि हामी कसरी चल्न सक्छौं’–भट्टले भने । उनले अन्य होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसंग रात्रिकालिन व्यवसायीलाई नदाज्न आग्रह समेत गरे ।
यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका पूर्व अध्यक्ष आनन्द कुमार रञ्जितले राति ९ बजेसम्म व्यवसाय संचालन गर्न दिनुको कुनै अर्थ नरहेको बताए । ‘हाम्रो व्यवसाय नै रातिको समयमा हुने हो, त्यहि बेला खोल्न नदिएपछि १/२ घण्टा खोल्न दिनुको के अर्थ ?’–रञ्जितले भने । उनले व्यवसाय बन्द भएपछि कलाकारदेखि सबै कामदारहरु पलायन हुने अवस्थामा पुगेको बताए । उनले यस्तै अवस्था रहे थुप्रै व्यवसायी र कलाकारहरु पलायन हुने अवस्था आउने बताए ।
यस्तै कलाकार आयुष्मा केसीले रात्रिकालिन व्यवसाय बन्द हुँदा कलाकारहरु पलायन हुने अवस्थामा पुगेको बताइन् । उनले गतवर्ष केही कलाकारहरु आत्महत्या गर्न बाध्य भएको भन्दै यस्तै अवस्था रहे यस्तै बाटो अन्य कलाकारहरु पनि रोज्न बाध्य हुने गुनासो गरिन् । उनले स्वास्थ्य सावधानी अपनाएर व्यवसाय संचालन गर्न दिन प्रशासनसंग माग गरिन् ।






















