Breaking News

जब अकस्मात भरतपुर अस्पतालमा अख्तियार छिर्‍यो, तब कर्मचारीमा देखिएको त्यो त्रास (भिडियोसहित)

  • Logo
    app haru
  • १७ भाद्र २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ १७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आज बिहीबार दिउँसो भरतपुर अस्पतालमा छापा हान्यो । एक्कासी अख्तियारको टोलीसहित हामी लगायतका सञ्चारकर्मीहरु पुग्दा अस्पतालका कर्मचारीहरु त्रसित बने ।

सिधै अस्पतालको लेखा शाखामा अख्तियारको टोली छिरेपछि पंखा मुनि बसेका कर्मचारीहरु असिनापसिना भए । उनीहरु त्रसित देखिन्थे । अख्तियारका पाँच जना अधिकारीहरुको टोली भरतपुर अस्पतालमा अनुसन्धानका लागि पुगेको थियो ।

अख्तियारका अधिकारीहरुले प्रश्न गरिरहँदा भरतपुर अस्पतालका कर्मचारीहरु बोल्न लड्बड्याइरहेका थिए । फाइलहरुका बारेमा सोध्दा बाहना बनाइ रहेका थिए । त्यसै बेला अख्तियारका एक अधिकारीले भने, ‘तपाईंहरुको बाहनाले हामी मान्दैनौं नी । त्यो त तपाईंहरुकै कमजोरी हो ।’

लेखा शाखाका केही कर्मचारीहरु भित्रबाहिर गरिरहेका थिए । अरु शाखाका कर्मचारीहरु जिल्ल परेर भित्रै बसिरहेका थिए । अख्तियारको टोली कागजात हेर्दै कर्मचारीसँग प्रश्न गर्न व्यस्त थिए ।

लेखा शाखाको केरकारपछि अख्तियारको टोली फार्मेसीमा छिर्‍यो । लेखामा अख्तियार छिरेको कुरा फार्मेसीमा थाहा भइसकेकाले त्यहाँ छिर्दा त्यस्तो खैलाबैला भएन । कर्मचारीहरु न आत्तिकनै फाइलहरु अख्तियारका अधिकारीहरुलाई देखाइ रहेका थिए ।

त्यसै बखत एक सेवाग्रही वृद्धले हामी भएकै ठाउँमा आएर भने, ‘तनहुँबाट आएको हामीलाई बीमाको औषधी छैन भनेर सोमबार आउनु रे फेरि । बीमा कार्ड पनि ट्राफिकले चेक गरे झैं चेक गर्‍यागर्‍यै छ । बीमाको सेवा लिन साह्रै दुखः छ । ल राम्रोसँग अनुगमन होस् । सत्यतथ्य छानबिन होस् । नेपाल सरकारले जुन उद्देश्यले बीमा कार्यक्रम ल्याएको छ त्यो उद्देश्य पूरा होस् । यहाँमात्र होइन बीमा कार्यक्रममा जहाँ जहाँ छ त्यो सबै ठाउँमा जनताले दुखः पाएका छन् ।’ ती वृद्धले यति भनिसकेपश्चात अख्तियारका अधिकारीहरुले लल हामी हेर्छाैं तपाईं जानुस् भनेर वृद्धलाई प्रतिक्रिया दिए ।

किन छिर्‍यो अख्तियार ?

अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता एवम् उपसचित विष्णुप्रसाद सापकोटासहितको ५ जना टोलीले भरतपुर अस्पतालमा छापा हानेको हो । सञ्चारकर्मीहरुसँग बोल्दै सापकोटाले भरतपुर अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी खरिदमा अनियमितता भएको उजुरी परेपछि अनुसन्धान गर्न आएको बताए ।

यस्तै बिमाका बिरामीहरुले समयमा औषधी पाएनन् भन्ने समेतको गुनासो र उजुरी पटकपटक परेकाले त्यसबारे बुझेर आवश्यक कागजात तथा प्रमाण जुटाउन अस्पतालमा अकस्मातरुपमा आएको उनको भनाइ छ ।

‘अस्पतालबाट कागजात प्रमाण संकलन गरेर लाने र उजुरीमा दाबी गरेअनुसार भए नभएको अनुसन्धान गर्छाैं । उजुरीमा दाबी गरेको जस्तै भए सम्बन्धित व्यक्तिहरुलाई झिकाएर कारबाही थाल्छौं’ उनले भने ।

उनले टेण्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका गुनासाहरु आएको बताए ।

देशको केन्द्र भागमा रहेको एउटा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालमा विभिन्न जिल्लाबाट बिरामीहरु आउने गर्दछन् । यहाँ सेवा प्रवाह प्रभावकारी नभएको, पटकपटक राजनीतिक पहुँचका आधारमा मेडिकल सुपरिटेण्डेन्ट फेरिने गरेको, चिकित्सकहरु तोकिएको समयमा अस्पतालमा नबसी हाजिर गरेर हिँड्ने गरेको, पहुँचवालाले आफ्नो आफन्तलाई जागिर खुवाउने थलो बनेको लगायत गुनासाहरु सुनिने गरेका छन् ।

पछिल्लो समय भरतपुर अस्पताल भ्रष्टाचारको अखडा बनेको गुनासो आउने गरेको छ । सञ्चारमाध्यममा पनि यससम्बन्धी विभिन्न समाचारहरु आइरहेका थिए ।

http://

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>