Breaking News

चितवनको क्यान्सर अस्पतालमा बीमा र विपन्न सेवा उपभोग गर्नबाट वञ्चित क्यान्सरका बिरामी

Banner

चितवन,  भदौ १२-

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीलाई बीमा र विपन्न सेवा उपभोग गर्न समस्या भएको छ ।

अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म मात्रै विपन्न र बीमाको सुविधा दिने भएपछि अस्पताल भर्ना भएका बिरामीलाई समस्या भएको हो । अन्तरङ्गका बिरामीलाई बिहान र साँझ चिकित्सकले विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि उक्त सेवा उपभोगमा समस्या हुने गरेको छ ।

उदयपुरको कटारीबाट उपचारका लागि आउनुभएका खड्कबहादुर मगर अस्पतालमा भर्ना भएर बस्नुभएको १३ दिन पुगेको छ । उहाँ दिउँसो ३ बजेदेखि विपन्न र बीमाको कार्डले काम नगरेपछि व्यक्तिगत खर्चबाट उपचार गराउँदै आउनुभएको छ ।

उपचारमा रहनुभएका उहाँको रेखदेखमा बस्दै आउनुभएकी उहाँकी श्रीमती मिनाकुमार मगरले भन्नुभयो, “साँझ बीमा र विपन्नको कार्डले काम नगर्दा उपचारमा ठूलो रकम खर्च भएको छ ।” चिकित्सकले बिहान र साँझ विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि विपन्न र बीमाबाट खर्च गर्न दिउँसोको समय कुर्नुपर्ने उहाँको भनाइ छ । शनिबार र सार्वजनिक बिदाका दिनमा समेत उक्त सेवा नपाइने उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, “टाढाबाट आएका छाँै । समस्या भएर कसलाई भन्ने । कसैले हाम्रो कुरा सुन्दैन ।” चिकित्सकले साँझपख मात्रै परीक्षणका लागि पठाउँदा समस्या हुने गरेको उहाँको गुनासो छ । यस्तै पीडा छ सिराहबाट उपचारका लागि आउनुभएकी काजलकुमारी सिंहको पनि । उपचारका लागि अस्पतालमा भर्ना भएको एक साता भयो । उहाँले गुनासो गर्नुभयो, “साँझ चिकित्सकले परीक्षण गरेपछि, ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रेलगायतका परीक्षण र औषधि लेखिदिनुहुन्छ । बीमा र विपन्नबाट सेवा लिन भोलिपल्ट दिउँसोसम्म कुर्नुपर्छ ।”

क्यान्सर रोगको उपचारका लागि देशभरबाट र छिमेकी देश भारतबाटसमेत बिरामी आउने गर्दछन् । टाढाटाढाबाट आएका बिरामी र बिरामीका कुरुवा स्वास्थ्य बीमा र विपन्नको सुविधा लिएपछि राहत पाउने आशमा रहेका हुन्छन् । तर बिहान ९ बजे देखि ३ः३० बजेसम्म मात्र त्यसले काम गर्ने र अन्य समयमा काम नगर्ने हुँदा आर्थिक समस्या आउने गरेको बिरामीका कुरुवाको गुनासो छ ।

अस्पतालमा सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन बिहान ९ बजेदेखि ३ः३० बजेसम्म बीमा र विपन्नको सुविधा पाइने अस्पतालका एक कर्मचारीले बताएको छ । केही समयअघि २४सै घण्टा सेवा दिने प्रयास गरिएको भए पनि अहिले रोकिएको हो । नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका भवदत्त शर्माले आफूले क्यान्सर अस्पतालमा उपचारका क्रममा बीमा र विपन्नको रु दुई लाखको सुविधा पाउने भए पनि रु ३५ हजारभन्दा बढी पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो खर्च भने रु दुई लाखभन्दा बढी भयो । तर बीमा र विपन्नको खर्च हुन सकेन ।” सरकारले दिएको सुविधा अस्पतालबाट पाउन नसकिएको उहाँको गुनासो थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बीमा र विपन्नको सेवा लिने बिरामी दिउँसो १ बजेसम्म बढी हुने र त्यसपछि बीमाको रकम दाबी गर्नुपर्ने भएकाले ३ बजेपछि सेवा बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा त्यस्तो समस्या छैन । बिरामी र आफन्तले अनुरोध गरे सेवा विस्तार गर्न सकिन्छ ।”

गत आर्थिक वर्षमा यस अस्पतालबाट विपन्नको सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ६६१ जना रहेको थियो । सोमध्ये ३३ जनाले वाग्मती प्रदेश सरकारले प्रदान गरेको सेवासमेत लिएका थिए । सङ्घीय सरकारले क्यान्सर रोगको उपचारका लागि रु एक लाख र वाग्मती प्रदेश सरकारले रु ५० हजार विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको छ ।

यसैगरी स्वास्थ्य बीमा गरेकाले परिवार सदस्यका आधारमा बढीमा रु दुई लाखसम्मको सेवा पाउने गर्दछन् । क्यान्सर रोगको उपचारमा ठूलो धनराशि खर्च हुने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>