Breaking News
संवैधानिक परिषद अध्यादेशविरूद्धका रिटको पेशी तोक्ने दिन प्रधानन्यायाधीश बिदामा

काठमाडौं, भदौ ११
संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार (भदौ १८ गते)का लागि पेशी तोकिने भएको छ ।
संवैधानिक परिषदको अध्यादेश र उक्त अध्यादेश अनुसार भएका नियुक्तिविरूद्ध परेका रिटमाथि सुरू पेशी तोक्ने दिन र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा बिदा बस्ने भएका छन् ।
सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ । तर उक्त दिन प्रधानन्यायाधीश जबराको पनि बिदा रहेको जनाइएको छ ।
अध्यादेशको सुनुवाइको सहजताका लागि प्रधानन्यायाधीश ती दिनमा बिदा बस्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले सञ्चारकर्मी हरुलाई जानकारी दिए ।
जबराको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।
रिट निवेदकमध्ये ओम प्रकाश अर्याललाई बेन्चमा बोलाएर अघि नै प्रधानन्यायायधीशले पनि रिटको पेशी तोक्दा र अन्तिम सुनुवाइमा आफू अनुपस्थित हुने बताएका थिए।
संविधानको मर्मविपरीत अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरिएको भन्दै उनले गएको पुस १ गते रिट दिएका थिए । अर्को अध्यादेश आएपछि उनले त्यसविरूद्ध पहिलेकै रिटको पूरक निवेदनका रूपमा दर्ता गरे।
पुस १ गते र त्यसपछि पनि अर्यालले दिएका २ वटा पुरक निवेदनमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि विपक्षी बनाइएको छ ।
आफैं विपक्षी हुने र आफैंले सुनुवाइ गर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तविरूद्ध हुने भन्दै रिट निवेदकहरूले प्रश्न उठाएका थिए ।























