देश/प्रदेश
जिन्दगीमा ‘अप्रिल फुल’ र ‘ब्युटिफुल’ को कहिल्यै विश्वास गर्नु हुँदैन: किरण केसी

काठमाडौं, भदौं ७-
रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ ।
आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् ।
हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए । कलाकारहरुले देशमा भएका भ्रष्टचार, बलात्कार, ठगी र सामाजिक सञ्जालमाथिका विसंगतिहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरुलक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।
वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफूले २०३७ सालदेखि गाईजात्रामा सहभागी भइरहेको स्मरण गराए । उनले प्रताप मल्ल्ले रानीको पुत्र वियोगमा रानीलाई खुशी बनाउने उद्देश्यले गाईजात्रा स्थापना भएको भन्दै गाईजात्राको इतिहासको बारेमा प्रकाश पारेका थिए । उनले देशका तीन जनाको मिलेमतोमा संविधान ल्याएको र बाँडीचुँडी देश खाएको भन्दै तिखो व्यङ्ग्य प्रस्तुत गरेका थिए । उनले ब्यङग्यमार्फत आइएनजीओले गरेका कामहरुको पनि चर्चा गर्न पनि भ्याए । सिम्खडाले नेताहरु अदालतको प्राङ्गणमा रोइ कराएको प्रति तिखो झटारो हाने ।
उनले नेपाली जनता नेताहरुको खेलौना कतिसम्म हुने भन्दै प्रश्न गरेका थिए । एक घन्टाकोे भाषण र मासु भातमा नेपाली जनता बिकेकोमा आक्रोश पोख्दै व्यङग्य कसेका थिए । उनले ‘सोझा जनता सधै धुरुधुरु…’ शीर्षकको कवितामार्फत व्यङग्य प्रहार गरेका थिए । उनले मानिसहरुलाई स्वार्थीको संज्ञा दिँदै भने,‘जनावर मारेर खाने जनता र जनता मारेर खाने नेता उस्तै हुन् ।’ उनले पत्रकार ऋषि धमला र आफू एउटै जिल्लावासी भएको र विद्यालय पढ्दाका रमाइला कहानी स्मरण गराएका थिए । प्रेमिकाहरुले ऋषि धमलाको बारेमा के सोच्छन् होला भन्दै उनले भने,‘मुख छुराजस्तो नाक लिपियाधुराजस्तो ।’ उनले आउने वर्षमा पत्रकारसहित ३० जना जति हास्ने दर्शकहरुलाई पनि राख्न धमलालाई आग्रह गरे । ‘जसले घरमा श्रीमतीलाई चिप्लो पारेर बोल्छ त्यसको बाहिर पक्का प्रेमिका हुन्छ ।’–उनले भने । बिग्रीएको मान्छे भन्दा सप्रेको बाँदर सहि हुने उनले जिकिर गरे ।
हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो…’ गीत प्रस्तुत गरेका थिए । उनले समस्या पुरानै छन् तन्त्र र मन्त्र नयाँ भन्दै ‘बाँदरको हातमा नरिवल’ शीर्षकमा सरकारप्रति ब्यङ्ग्य गरेका थिए । उनले कोरोना भाइरसबाट कसरी जोगिने विषयमा नेवार समुदायमा बोलिने शैलीलाई अपनाएर सन्देशमुलक क्यारिकेचर समेत गरेका थिए । उनले क्यारिकेचरमार्फत भाइरसबाट जोगिने उपायहरुको बारेमा जानकारी दिएका थिए । उनले जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास नगर्न पनि आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा बोल्दै अर्का कलाकार लक्ष्मण गाम्नागेले ‘मलाई उस्तै उस्तै लाग्न थालेको छ’ कवितामार्फत सरकारप्रति झटारो हानेका थिए । उनले नेपालमा पछिल्लो समयको राजनीति घट्नाप्रति तिखो ब्यङग्य गरेका थिए । उनको कवितामा देशको भाव बोलेको थियो ।
हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरे पनि नेताहरु कहिल्यै नसुध्रिने बताए । उनले एमाले पार्टी फुटेको र देउवालाई फाइदा भएको भन्दै गीत प्रस्तुत गरेका थिए । नेताहरुलाई व्यंग्य गर्दै उनले प्यारोडी गीत पनि गाएका थिए । दमनले ‘ऋषि धमलाको नाकजत्रै मन पनि ठूलो’ भएको बताए ।
यसैगरी, साक्षात्कार कार्यक्रममा हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकीकृत हुनुपर्छ भन्दै कविता वाचन गरेका थिए । रिजालले अफगानिस्तानका जनतालाई छाडेर भाग्ने राष्ट्रपति घानी लगायतलाई व्यंग्य गर्दै ‘हामीलाई चाहिएको छ’ भन्दै अर्को कवितामार्फत तिखो झटारो हानेका थिए । उनले ऋषि धमलाले सारा दर्शकलाई टेलिभिजन वा अन्य कुनै मिडियामार्फत ‘गरमलाई ठण्डा र ठन्डालाई गरम’ बनाउने गरेको पनि उल्लेख गरे ।
त्यस्तै, कार्यक्रममा बोल्दै कलाकार श्रीकृष्ण सिंम्खडाले प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिडविरुद्धको खोपको प्रसंगमा क्यारिकेचर गर्दै हास्यव्यंग्य सुरु गरेका थिए । उनले एमसीसीको बारेमा पनि झटारो हानेका थिए । उनले केपी शर्मा ओलीको क्यारिकेचर गर्दै बालुवाटार छाडेर बालकोट जाँदाको कुरा कोट्याएका थिए । उनले ऋषि धमलालाई नेपालकै आइडोलोजी भएको पत्रकारको रुपमा चित्रण गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पनि क्यारीकेचर गर्दै ब्यङग्य कसेका थिए ।
सिंम्खडाले ‘मेरो देशमा गणतन्त्र छ, त्यही भएर म दैनिक २५ रुपैयाँको पिसाब फेरेर घर फर्कन्छु’ कवितासमेत वाचन गर्दै गणतन्त्रप्रति व्यंग्य गरेका थिए ।
गाइजात्रा बिशेषमा हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनीतिक घट्नाक्रमको बारेमा व्यंग्य गरे । उनले अन्तर्वार्ता लिन बोलाउने तर प्रश्न सोध्दा रिसाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङग्य गरे । उनले बाबुरामलाई ट्विटरमा धेरै गाली खाने भन्दै जति गाली खाएपनि ट्विट गर्न नछाडेको गहिरो ब्यङग्य गरे ।
राजारामले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’लाई कलौटेको संज्ञा दिए । उनले नेपालका नेताहरुले ३६५ दिन नै कमेडी गर्ने बताए । वास्तविक कलाकारले कहिलेकाही मात्र हसाउने उनको भनाइ थियो ।
देशमा हाल रामराज्य भएको जीकिर गर्दै उनले ‘दाईंमा मियो मात्र नभएको मात्रै हो’ भन्दै कविता वाचन गरेका थिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई प्यारोडीमार्फत प्रस्तुत गरेका थिए । उनले जनताहरुलाई भेडाको संज्ञा दिँदै नेताहरुको ‘रक्सी र मासुमा बिक्ने’ भन्दै झटारो हानेका थिए । त्यस्तै, गाईजात्रा विशेष साक्षात्कारमा खड्क बहादुर पुन (खबपु)ले अन्य पेशाका सबै संगठित भए पनि हाँस्यकलाकारहरु अहिलेसम्म संगठित हुन नसकेको धारणा राखे । उनले गाइजात्राको दिन सम्पूर्ण कलाकारहरुको दिन भन्न पाएमा खुसी हुने बताए । उनले भोगाइबाट नै साहित्य र हास्यव्यंग्य जन्मने उनको भनाइ थियो । पत्रकारहरुले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुःखेको उनको गुनासो थियो
।
























