Breaking News

अफगानिस्तानबाट उद्दार गरिएका नागरिकलाई पोलियो खोप दिइने

Banner

काठमाडौं, भदौ ७ त्रिभुवन विमानस्थलमा अफगानिस्तानबाट उद्दार गरेर ल्याइएका नेपाली नागरिकलाई पोलियो खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार अफगानिस्तानबाट उद्दार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको छ।

गौतमको भनाइ अनुसार ‘अफगानिस्तान पोलियो संक्रमण जोखिमयुक्त मुलुक भएकोले उक्त संक्रमणबाट बच्न पोलियो खोप लगाउनु पर्छ । त्यस्तै अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको गौतमले बताए ।

विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् ।गृहमन्त्रालयका अनुसार गत भदौ १ गतेयता ५ सयभन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा प्रत्येक वर्ष पोलियोका बिरामी फेला पर्ने गरेका छन् । यो वर्ष दुई जनामा पोलियो फेला परेकोमा एकजना पाकिस्तानी र अर्को अफगानिस्तानी नागरिक हुन् ।

यसअघि अफगानिस्तानबाट फर्किएकाहरुलाई भने उनीहरुलाई पायक पर्ने स्वास्थ्य संस्थामा पोलियो खोप लगाउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिइसकेको महाशाखा प्रमुख गौतमले बताए ।

के हो पोलियो रोग ?

जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोप पूरा मात्रा नलिएका बालबालिका यस रोगका उच्च जोखिममा हुन्छन् । यो रोग पोलियो भाइरबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मृत्युसमेत हुन सक्छ ।

पोलियोले मुख्यतः पाँच वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ र यो निको हुँदैन ।

खोप कार्यक्रम सञ्चालन भएता पनि खोप सेवा राम्ररी उपभोग नभएका ठाउँका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन् । त्यस्तै समुदायमा एकजना बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ ।

पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोगविरुद्ध खोप दिनु नै हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>