चितवन विशेष
भरतपुरको सप्तगण्डकी क्याम्पसमा विद्यार्थीहरुले जलाए प्रधानमन्त्री देउवाको पुत्ला

चितवन, भदौं ३-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज विद्यार्थीहरुले अध्यादेशको विरोध गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियु सप्तगण्डकी क्याम्पस एकाइले केन्द्रीय कार्यक्रम अनुसार अध्यादेशको विरोधमा अध्यादेश र प्रधानमन्त्री देउवाको पुत्ला सँगै जलाएको हो ।
कार्यक्रममा युवा परिषद् चितवनका अध्यक्ष तथा सप्तगण्डकी क्याम्पसका पूर्वविद्यार्थी नेता अश्विन घिमिरेले देशमा लोकतान्त्रिक दलीय पद्धतिलाई कमजोर बनाउने गरी देउवा सरकारले राजनीतिक दलसम्बन्धी विद्येयक ल्याएको बताए । उनले केपी ओलीलाई विद्येयक ल्यायो भनेर प्रतिगमनकारी देख्नेहरुले पूर्वसरकारको भन्दा पनि कमजोर प्रकारको अध्यादेश ल्याएको दाबी गरे ।
कार्यक्रममा अनेरास्वबियु सप्तगण्डकी इकाइका अध्यक्ष हरि आचार्यले यस्तै अलोकतान्त्रिक र मनपरी गर्दै गएमा परमादेशबाट गठन भएको देउवा सरकारको विरोधमा विद्यार्थीहरुले अझ सशक्त खालका कार्यक्रम गर्दै जाने बताए ।























