चितवन विशेष
चितवनका संगीतकार दीपक प्रधानको गीत १८ वर्षपछि युट्युबमा सार्वजनिक

चितवन, भदौं ३-
चितवनका संगीतकार दीपक प्रधानले आजभन्दा करिब १८ वर्ष अगाडि आफ्नो संगीतमा रेकर्ड गरेको गीत युट्युब च्यानलमा सार्वजनिक भएको छ ।
उक्त समयका चर्चित गायक सञ्जिव प्रधानले गाएको ‘लुकेर तिमी नहेर धड्किन्छ यो मेरो दिल’ बोलको ड्रिम्स स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको गीत अहिले बल्ल रचनाकार विज्ञानलाल श्रेष्ठको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
संगीतकार प्रधानले १८ वर्ष अगाडि ब्लुबर्ड म्युजिकको व्यवस्थापनमा बजारमा ल्याएको उक्त गीत समावेश रहेको एल्बम ‘हिँड्दा हिँड्दै’ लाई चितवन महोत्सव–२०५९ को अवसर पारेर नायिका निरुता सिंहबाट बिमोचन गरेका थिए ।
एल्बममा रहेका आठ गीतमध्ये सञ्जिव प्रधानले गाएको र विज्ञानलाल श्रेष्ठको शब्द रहेको लुकेर तिमी नहेर बोलको गीतलाई छायांकन समेत गरिएको थियो । सञ्जिव प्रधान स्वयम् र कविता मोडल रहेको उक्त गीतलाई दिलिप श्रेष्ठले निर्देशन गरेका हुन् ।
संगीतकार प्रधानले हालसम्म करिब ४० बढी गीतमा संगीत भरिसकेका छन् । नारायणी कला मन्दिर नारायणगढको वर्ष २०५६\५८ कार्यकालका अध्यक्ष समेत रहेका दीपक प्रधान हाल बालकुमारी उच्च मावि नारायणगढको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन् । विद्यालय व्यवस्थापन समितिको विभिन्न कार्यकालहरूमा सदस्यको रूपमा रही कार्य गरिसकेका प्रधानले क्याम्पाचौर व्यवस्थापन समितिको संयोजकको हैसियतमा रही क्याम्पाचौरलाई कम्पाउण्ड वाल लगाएर सोको संरक्षण र सम्वद्र्धन एवम् व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । शिक्षाप्रेमी तथा समाजसेवी एवम् संस्कृति, कला, साहित्यप्रेमी संगीतकार प्रधानले केही गीत तथा कविताहरूको रचना पनि गरेका छन् ।
आजभोलि एल्बम निकाल्ने चलन हराएको साथै गीतलाई छायांकन गरी युट्युब मार्फत प्रसारण गर्ने चलन बढ्दै गएकोले पुन गीतलाइर्ए अठार वर्षपछि पुनः प्रसारण गरिएको संगीतकार दीपक प्रधानले जानकारी दिए ।
























