Breaking News

पौरखी नारी नमिता : कुखुरामा ३० लाख घाटा खाइन्, बंगुर पालेर मासिक साढे २ लाख कमाउँदै

  • Logo
    app haru
  • ३२ श्रावण २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, साउन ३२ –
१६ वर्ष अगाडि कुखुरा व्यावसायमा ३० लाख घाटा खाएकी नमिता अधिकारी निकै दुखी भइन् । उनको परिवारमा ऋण थुप्रियो । तर १६ वर्षपछि अहिले उनी अरुलाई ऋण दिने भएकी छिन् । मासिक साढे दुई लाख कमाउँछिन् उनी ।

असफलता पछि सफलता हाँसिल गर्ने एक उदाहरणीय पात्र हुन् नमिता । बंगुरपालन गरेर नमिताले कृषिमा व्यावसायिक सफलता हाँसिल गरेकी हुन् ।

१२ वर्ष अघि ४ वटा बंगुर पाल्न सुरु गरेकी उनीसँग अहिले १०० वटा बंगुरका माउ छन् । उनी बंगुरका पाठापाठी बेच्ने गर्छिन् । एउटा बच्चालाई ६ हजार ५ सय रुपैयाँमा फार्मबाटै बेच्ने गरेको नमिता बताउँछिन् । एउटा माउले एक बेतमा १४/१५ वटा भन्दा बढी बच्चा जन्माउँछ । उनले ड्यूरो र ल्याण्डेस प्रजातिका बंगुर पालेकी छिन् । यो बंगुर ७ महिनामा करिब ८० किलोको हुने नमिता बताउँछिन् ।

खर्च कटाएर गत एक वर्षमा १५ लाख कमाएको बताउँदै उनले अहिले आम्दानी एकदम राम्रो भएकाले महिनामा २ लाख ५० हजार नाफा भइरहेको बताइन् । उनको व्यावसायमा मासिक १ लाख रुपैयाँ खर्च हुने गरेको छ । ८ हजारको लगानीबाट त्यतिबेला उनले बंगुरपालन सुरु गरेकी थिइन् । अहिले उनको फार्ममा दुई करोडको सम्पती रहेको छ ।

पहिला परिवारले नै दुखः गरेर बंगुरपालन व्यावसायमा होमियो । पछि बंगुरको संख्या बढाउँदै गएपछि कामदारहरु राख्न थालेको नमिताले बताइन् । हाल ४ जनालाई रोजगारी दिएकी छिन् नमिताले ।

सरकारले पनि उनको व्यावसायलाई सहयोग गरिरहेको छ । कृषि तथा मत्य विकास केन्द्रबाट गतवर्ष ५ लाख अनुदान पाएको र जसबाट १५ लाखको खोर बनाएको बताउँदै उनले खोर बनाएपछि बुंगुरको संख्या थपेको जनाइन् । कृषि ज्ञान केन्द्रबाट पनि अनुदान पनि पाएको उनले बताइन् ।

अहिले फेरि अर्काे खोर बनाउने तयारीमा गर्दै छिन् नमिता । कृषि विकास बैंकबाट अनुदानको ऋण लिएर व्यावसायलाई विस्तार गर्न लागेकी छिन् उनी ।

थोरै लगानी, आम्दानी धेरै, संघर्ष ठूलो :

सानो लगानीबाट सुरु गरेकी थिइन् नमिताले बंगुरपालन । बंगुरपालनबाटै कमाउँदै त्यसैमा लगानी गर्दै गइन् उनले । ४ वटाबाट २० वटा २५ वटा गरेर क्रमशः बढाउँदै १०० वटा माउ पु¥याएको नमिता बताउँछिन् ।

सासु आमाको प्रेरणाले अनि सासु आमाले नै दिएको लगानीले ४ वटा बंगुर पालेर सुरु गरेकी थिइन् उनले कृषि व्यावसाय । बंगुरपालनले राम्रो आम्दानी दिँदै गएपछि उनले १० कठ्ठा जग्गा थपिन् । उनीसँग १७ कठ्ठा जग्गा पहिल्यै थियो । जग्गा थपेपछि उनले माछापालन व्यावसाय पनि सुरु गर्न थालिन् । अहिले माछाबाट पनि उनको अलग्गै आम्दानी छ । यहाँ अहिले माछातर्फका कुरा चर्चा नगरौं ।

आफूलाई बंगुरपालन व्यावसायबाट राम्रो भएका कारणले गर्दा नमिताले अरुलाई पनि बंगुर पाल्न सल्लाह दिन्छिन् । ‘बंगुर पाल्दा कति फाइदा छ ? कसरी पाल्ने ? कतिको गाह्रो हुन्छ ? भन्दै मलाई कतिले सोध्नु हुन्छ’ उनी भन्छिन्, ‘सोध्नेहरुलाई मैले बुंगुर पाल्न सल्लाह दिने गरेको छु । जानेको सबै सिकाउँछु ।’

उनले बंगुर पाल्न धेरै मिहिनेत गर्नुपर्ने बताइन् । ‘बंगुरपालन सजिलो त छैन तर थोरै लगानीमा धेरै आम्दानी चाहिँ छ’ उनी भन्छिन्, ‘बुंगुर ब्याएपछि तीन दिन सुत्न पाइन्न । रातदिन कुर्नुपर्छ । बल्ल बच्चा बाँच्छ ।’

६२ सालमा ३० लाख घाटा !

विसं. २०६२ सालमा ३० लाख रुपैयाँ भनेको अहिलेको तुलनामा निकै ठूलो रकम हो । अनि ३० लाख रुपैयाँ नोक्सान भनेको चानचुने कुरा होइन ।

हो नमिताले ०६२ सालमा कुखुरा व्यावसायबाट ३० लाख रुपैयाँ घाटा खाएकी थिइन् । ‘पहिला म कुखुराको व्यावसायी थिएँ । त्यसमा ३० लाख घाटा खाएपछि व्यवसाय परिवर्तन गरेर बँगुरपालनमा आएकी हुँ; उनले भनिन्, त्यो बेला ३० लाखले ४/५ विघा जग्गा आउँथ्यो ।’

‘कुुखुरा व्यावसायले जोगि बनाएको थियो । ऋण लागेपछि श्रीमान् विदेशिनु भयो । बिदेशको छोटो बसाईको कमाइले ऋण तिर्न पनि सकिएन’ उनले भनिन्, ‘अनि मैले बंगुरपालन व्यावसाय सुरु गरें ।’ कृषि व्यावसायतर्फको आकर्षण जति घाटा खाए पनि नमिताले छाड्न सकिनन् र बंगुरपालन व्यावसाय सुरु गरेकी थिइन् । पहिला कुखुरमा घाटा खाएको भएर एकैचोटी लगानी गर्न डर लागेर ४ वटाबाट बंगुर पाल्न सुरु गरेको नमिता बताउँछिन् ।

भरतपुर महानगरपालिका– १६ हाम्रो चोकमा नमिताले ‘सिमरन बंगुर फार्म’ का नामबाट बंगुरपालन व्यावसाय गर्दै आएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>