गण्डकी
राष्ट्रियतालाई सुदृढ बनाउन आदिवासी जनजातिको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख गुरुङ

गण्डकी, साउन २५–
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन आदिवासी जनजाति समुदायको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
२७औँ विश्व आदिवासी दिवस (अगस्त ९) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै देश निर्माणमा नेपालका आदिवासी जनजाति समुदायहरूले महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ ।
“नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन, जातीय सद्भाव र आदिवासी जनजाति समुदायको सहिष्णुता कायम राख्नसमेत यो समुदायको विशेष योगदान रहेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “राज्यका हरेक निकायमा समुचित र न्यायोचित प्रतिनिधित्वका लागि नेपालको संविधान २०७२ ले संवैधानिक रुपमा प्रत्याभूत गरेकाले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश नेपालको मौलिक विशेषताका रुपमा रहेको विविधतााई हामी सबैले सम्मान गर्नु पर्दछ ।
आदिवासी समुदायको अधिकारसम्बन्धी आईएलओ महासन्धि १६९ लाई नेपालले सन् २००७ सेप्टेम्बर १३ मा अनुमोदन गरिसकेको छ । आदिवासी समुदायको संस्कृति संरक्षणका लागि २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाएको उहाँको सन्देशमा उल्लेख छ ।
नेपाली जनताको पटकपटकको त्याग, बलिदान र सङ्घर्षले नै सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै सन्देशमा उपलब्धिको रक्षा र आदिवासी जनजाति समुदायलाई राज्यप्रति अपनत्व महसुस गराउन सबैको ध्यान जान आवश्यक रहेको भनिएको छ ।
























