Breaking News

भूमाफियालाई मेयर वनको चेतावनी: रत्ननगरमा सार्वजनिक जग्गा जोगाउँदा बिक्दैनौं, चुक्दैनौं

Banner

 

चितवन, साउन २१

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सार्वजनिक जग्गा संरक्षणका विषयमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

टाँडी बजारमा फिर्ता गरिएको सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवनको शिलान्यास कार्यक्रममा मेयर वनले सार्वजनिक सम्पत्ती कब्जा गरेर मालिक हुने सपना नदेख्न भूमाफियाहरुलाई चेतावनी दिए ।

‘सार्वजनिक सम्पत्ती जोगाउने हाम्रो दायित्व हो’ उनले भने, ‘यो विषयमा हामी बिक्दैनौ र कसैसँग चुक्दैनौं ।’ सार्वजनिक जग्गा संरक्षणको क्रममा दर्जनौं मुद्दा खेप्नु परेको भन्दै मेयर वनले मुद्दा खेपेरै भए पनि सार्वजनिक जग्गा जोगाउन सफल भएकोमा आत्मसन्तुष्टि भएको बताए । उनले भने, ‘कतिपय मुद्दाहरु हामीले जित्यौं उनले भने अझै पनि अदालतमा मुद्दा छन्, यसले हामीलाई केही असर गर्दैन । ’

मेयर वनले सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरुबाटै आफूले लुटपाटको मुद्दा खेपिरहेको बताए । वडा नं ७ का वडाध्यक्ष राजन भट्टले सार्वजनिक सम्पत्ती संरक्षणको विषयलाई राजनीतिसँग नजोड्न आग्रह गरे । सार्वजनिक जग्गा फिर्ता गर्ने क्रममा केही राजनीतिक दलका नेताहरु स्थानीयबासीलाई उचालेर भोटको राजनीति गर्न सुरु गरेको उनको भनाइ छ ।

रत्ननगर नगरपालिकाको ३९ लाख २३ हजारको लगानीमा शौचालयसहितको व्यवसायिक भवन निर्माण हुने पूर्वाधार समितिका संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए । सो भवनलाई पूर्णता दिन चालु आर्थिक वर्षमा पनि ३० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी, टाँडी टोल विकास संस्थाका अध्यक्ष रामेश्वर भट्टराई,कार्यपालिका सदस्य राजेन्द्र हमाललगायतले मन्तव्य राखेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>