Breaking News

चितवनमा फ्रन्टलाइनमा खटिएका दुग्ध सहकारीका कर्मचारीलाई खोपको माग

Banner

मनिका विश्वकर्मा

चितवन, साउन १३

चितवनका दुग्ध सहकारी संस्थाहरुले कोरोना विरुद्धको खोप माग गरेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले फ्रन्टलाइनमा खटिने कर्मचारीहरुलाई खोप दिनुपर्ने माग गरेको हो ।

संघले आज पत्रकार सम्मेलन गरी किसानसँग प्रत्यक्ष खटिएका दुग्ध सहकारीका कर्मचारीलाई खोप दिनुपर्ने माग गरेको छ । दुग्ध सहकारीमा कार्यरत कर्मचारीहरु जो दैनिकरुपमा बिहान बेलुका ५०० जना किसानसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अति आवश्यक रहेको दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले जानकारी दिए । खोपको लागि स्वास्थ्य कार्यालयले कुनै मापदण्ड नतोकी दिएको उनले गुनासो गरे । जिल्ला प्रशासन कार्यालयले पनि खोप उपलब्ध गराइदिने बारे बेवास्ता गरेको सहकारीको गुनासो छ । फ्रन्टलाइनमा खटिने कर्मचारीलाई विभिन्न निकायमा खोपको लागि अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको बगालेले पत्रकार सम्मेलनमा बताए ।

घरभित्र बसेर अनलाइन कक्षा पढाउने शिक्षकलाई चाँही खोपको व्यवस्था हुने तर बाहिर प्रत्यक्ष आम जनतासँग सम्पर्कमा रहेकाहरु जसलाई कोरोनाको जोखिम रहेको हुन्छ । उनीहरुलाई चाँही खोप नदिनु भनेको शासकीय प्रणालीको खिल्ली उढाउने काम भएको उनीहरुले बताएका छन् । चितवनका पालिकाहरु सबैमा खोपको दुरुपयोग समेत भएको उनीहरुले दाबी गरेका छन् ।

चितवनमा संघअन्तर्गत १२० दुग्ध सहकारी संस्था रहेका छन् । जसमा ५०० जना कर्मचारीहरुले काम गरिरहेका छन् । सहकारीका पनि कार्यालयभित्र भन्दा पनि फिल्डमा खटिने कर्मचारीलाई खोपको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रेमप्रसाद लामिछानेलाई पनि खोपको लागि बारम्बार फोन गर्दा पनि बेवास्ता गरेको र जिल्ला स्वास्थ्य कार्यालयमा जाऊ भन्ने जस्ता कुराहरु गरेको दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले बताए । न्यौपाने पनि केही दिन अघि मात्रै कोरोना संक्रमणमुक्त भएका हुन् । हालसम्म सहकारीका कुनै पनि कर्मचारीले कोरोना विरुद्ध खोप नलगाएको उनले बताएका छन् । ‘राज्यले खोप लगाउने वर्ग छुट्टाउँदा दुग्ध उत्पादनमा लाग्ने कर्मचारीहरुलाई नतोकेको उनीहरुले गुनासो गरे । विभेदकारी ढंगले खोप नदिई अन्याय गरेको उनीहरुले बताएका छन् । अरुलाई खोप दिएको भनेर विरोधमा नआई हाम्रो कर्मचारी जो दैनिकी कोरोनाको जोखिममा पनि फ्रन्टलाइनमा खटिएका छन् । उनीहरुलाई चाँही खोप उपलब्ध गराउनुपर्छ’ न्यौपानेले भने ।

संघका पदाधिकारीले आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पनि खोपको व्यवस्था गरिदिनुपर्ने भन्दै फोन गरेको पत्रकार सम्मेलनमा बताएका थिए । सचिवले खोपको कामबारे सिडियोले व्यवस्थापन गर्नुपर्ने भन्दै फोन काटिदिएको बगालेले जानकारी दिए । वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुले जसरी सहज तरिकाले खोप पाएका छन् त्यसरी नै दुग्ध सहकारीले पनि खोप लगाउन पाउनुपर्ने उनीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>