Breaking News

चितवनमा वर्षातको झरीमा ३६ प्रतिशत पुँजीगत खर्च, असारे विकास दोहोरियो

  • Logo
    app haru
  • १३ श्रावण २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन १३
चितवनमा गत आर्थिक वर्षको जेष्ठ र असार महिनामामात्र ३६.१४ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । बैशाख मसान्तसम्ममा चितवनमा पुँजीगत खर्च ४१.८२ प्रतिशतमात्र थियो । असार मसान्तसम्म त्यो बढेर ७७.९६ प्रतिशत पुगेको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरले जनाएको छ ।

असार र जेष्ठको वर्षातको समयमामा पुँजीगत खर्च बढ्नुको प्रमुख कारण बजेट सकाउन खोज्नु नै भएको कार्यालयका सूचना अधिकारी शरदचन्द्र भट्टराईले जानकारी दिए । हिउँदको समयमा केही गर्न नसक्ने अनि आर्थिक वर्ष सकिन थालेपछि बजेट सक्न झरीमा भए पनि काम गर्ने प्रचलन नेपाल भरी नै छ । बजेट सक्नका लागि असारको वर्षे झरीमा हतार गरी गरिएका कामहरु कमशल र गुणस्तरहीन हुने गरेका छन् ।

यस्तै असारमा केही ठेक्का सम्झौताको अन्तिम भुक्तानी दिइने भएका कारणले पनि यो महिना पुँजीगत खर्च केही मात्रामा बढी दखिने भट्टराइले बताए ।

चितवनमा गत आवका लागि संघ र प्रदेश सरकारबाट गरी कुल पुँजीगत बजेट ८ अर्ब ८९ करोड ४७ लाख ८५ हजार ७३६ रुपैयाँ बजेत विनियोजन भएको थियो । यसको ७७.९६ प्रतिशत खर्च भएको हो । संघको ६ अर्ब ५३ करोड ४१ लाख ४३ हजार ७३६ र प्रदेशको २ अर्ब ३६ करोड ६ लाख ४२ हजार रुपैयाँ थियो । जसमा संघतर्फको ७९.४० प्रतिशत र प्रदेशतर्फको ७३.९८ प्रतिशत बजेट खर्च भएको छ । खर्च हुन नसकेको बजेट फ्रिज भएको छ ।

यद्यपी अघिल्लो आव ०७६/७७ मा भन्दा गत आव ०७७/७८ मा पुँजीगत खर्च बढी भएको कोलेनिकाका सूचना अधिकारी भट्टराईले बताए । आव ०७६/७७ मा संघतर्फको ५८.४० प्रतिशत र प्रदेशतर्फको ५२.९१ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो ।

चितवनमा गत आवमा संघ तर्फको चालु खर्च ९२.०५ प्रतिशत र प्रदेशतर्फको ८३.६८ प्रतिशत चालु बजेट खर्च भएको छ । चालु बजेट आवश्यकताभन्दा बढी राख्दा कम खर्च भएको देखिएको छ ।
सबै सरकारी कार्यालयहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट निकासा गर्ने गर्दछ । पुँजीगत बजेटलाई विकास बजेटका रुपमा लिइन्छ भने चालुु बजेटलाई सामान्य प्राशसनिक (तलवरभत्ता) खर्चका रुपमा लिइन्छ ।

सडकको बजेट दुई महिनामा ३५ प्रतिशत खर्च :
संघतर्फको पुँजीगत बजेट सबैभन्दा धेरै विनियोजन हुने कार्यालय सडक डिभिजन हो । खासमा असारको झरीमा सडक निर्माणका काम नै बढी भएको देखिन्छ । झरीमा सडक निर्माण गर्नु कुनै पनि हिसाबले उपयुक्त मानिँदैन । बरु अन्य भौतिक पूर्वाधारका निर्माणमा झरीले त्यति धेरै असर पारेको पाइँदैन ।

गत आवमा सडक डिभिजन भरतपुरले पुँजीगत बजेटको ८०.७९ प्रतिशत बजेट खर्च गरेको छ । सो कार्यालयका लागि गत आवमा १ अर्ब ६१ करोड १ लाख ५९ हजार ४७५ रुपैयाँ पुँजीगत बजेट थियो । ३० करोड ९२ लाख ५७ हजार ६०५ रुपैयाँ बजेट खर्च हुन सकेन ।

बैशाखसम्म १० महिनामा ४५.५७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको सडक कार्यालयले जेष्ठ असारको दुई महिनामा ३५.२२ प्रतिशत बजेट खर्च गरेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले ९१.५९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । कार्यालयले बैशाख मसान्तसम्म ५१.४२ प्रतिशत खर्च गरेको थियो ।

प्रदेशतर्फको धेरै बजेट विनियोजन हुने पूर्वाधार विकास कार्यालयले ७३.५४ प्रतिशत पुँजीगत खर्च गरेको छ । कार्यालयले बैशाख मसान्तसम्म ४५.९६ प्रतिशत खर्च गरेको थियो ।

यस समाचार सम्बन्धि थप जानकारीका लागि तलको लिंकमा क्लिक गरेर यसअघि प्रकाशित समचार हेर्नुहोस्, :

चितवनमा बैशाखसम्ममा पनि भएन पुँजीगत खर्च, बजेट सकाउन झरीमा धमाधम गुणस्तरहीन काम

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>