Breaking News

‘अर्कासँग माग्नु र आँफै कमाउनुमा धेरै फरक हुनेरैछ’

Banner

मनिका विश्वकर्मा, 

चितवन, साउन ५-

 भरतपुरको वीरेन्द्र क्याम्पस गेट नजिकै सालको अग्लो रुख मुनिको शीतल छहारीमा मनमाया राई ठेलामाथि बस्दै छिन् । ‘आउनुहोस् मिलाएर तामा दिन्छु’ भन्दै कराउँदै थिइन् । खुकुलो निषेधाज्ञाको समय भए पनि राजमार्गमा सवारीसाधन टन्नै गुडिरहेका थिए । दुईपाङ्ग्रे ठेलामा मनमाया रातो मेहन्दीले सजिएका हातले तामा केलाउँदै थिइन् ।

उनको ठेलामा कलकलाउँदो हेर्दा खाउँ खाउँ लाग्ने तामा देखिन्छ । मनमायाले एक केजी तामाको १०० रुपैयाँ बिक्री गर्छिन् । केही समय अघि डोकोमा बेच्दै नारायणगढको लायन्स चोकतिर डुल्ने उनलाई डोकोमा बेच्दा फलफूलमा घाटा लाग्न थाल्यो । घाटासँगै सरकारले पनि जिल्लामा कोरोना बढेको भन्दै बन्द ग¥यो । त्यसपछि बजारमा डुल्दै फलफूल बेच्न नपाएपछि उनी केही महिना त घरमा नै बस्न बाध्य भइन् । भरतपुरमा उनी श्रीमान र छोरासँग कोठाभाडामा बस्छिन् । धादिङबाट बसाइँ सरेर आएपछि नै उनी व्यापारी बन्न थालेकी हुन् । उनी भन्छिन्, ‘सुरु सुरुमा त बाटो बाटोमा जानै लाज लाग्थ्यो । लाजले तरकारी बिक्री पनि भएन ।’

मनमाया अहिले त आफू पक्का व्यापारी बनेको बताउँछिन् । उनले डोको व्यापार छोडेर ठेलामा तामा बेच्न लागेको धेरै भएको छैन । जम्मा दुई दिन मात्रै भयो उनले तामा बेच्न लागेको । उनले आज २० केजी तामा ल्याएकी थिइन् । हामीसँग कुरा गर्दागर्दै १० केजी तामा बेचिसकिन् । अहिले दुवै जनाको कमाइँ भएकोले घरखर्च धान्न पनि सहज भएको उनले बताइन् ।

मनमायाले भनिन् ‘श्रीमान्ले घर बनाउने काम गर्नुहुन्छ मैले पनि काम गर्छु अनि दुवैजनाले काम गरेपछि सजिलो त भइहाल्छ नि । मलाई लाग्ने खर्चमात्रै नभएर घरको पनि खर्च उठाइन्छ मेरो कमाइले । कहिलेकाही घाटानाफा भएसँगै धेरथोर त भै नै हाल्छ नि !’
चितवनमा काँचो तामाको सिजन असारदेखि भदौंसम्म मात्रै हुन्छ । तनहुँबाट चितवन झरेकी कल्पना मगरले पनि मनमायाको ठेला नजिकै ठेलामा तामा बेच्दै थिइन् । मनमायाको ९ किलो बिक्री हुँदा पनि कल्पनाको बोनी नै भएको थिएन । चितवनको ग्रामीण भेगबाट उनलै बिहानै जरासँगै तामा ल्याउछिन् । तामालाई केलाई, सफा गर्दैमा उनको तीन घण्टा समय जान्छ । बजारसम्म पुग्न उनलाई थप एक घण्टा लाग्छ । उनले भनिन्, ‘अहिले तामाको सिजन भएकोले नै यो बेच्न थालेको हो । बिक्री भएको समयमा दिनको ५०० जति नाफा हुन्छ । तर बिक्री नभएको बेला तामा फाल्नुपर्छ ।’ कल्पनाले भनिन्, ‘बिक्री नभएर अस्ती मात्रै एक बोरा तामा फालियो । धेरै दिन टिक्दैन गर्मी मौसम भएकोले पनि तामा चाँडै बिग्रिन्छ ।’

उनी तामा बिक्री नभएपछि अली बढी निराश देखिन्छन् । अब उनले भदौंदेखि तामाको सिजन सकिएपछि उनले पुनः फलफूल नै बिक्री गर्ने बताइन् । उनका श्रीमानले गाँउघरबाट खसीबोका ल्याएर बजारमा बेच्ने गर्छन् । चितवन आएबाट नै उनले पनि व्यापार व्यवसायमा हात हालेकी हुन् । दैनिक मध्यान्ह १२ बजे उनी बजार तामा बेच्न आइपुग्छिन् । उनी आफै आत्मनिर्भर भएपछि धेरै सहज भएको अनुभव सुनाउँछिन् । आफूले पनि कमाउने भएपछि उनलाई निर्णय गर्न पनि मद्दत पुगेको छ । उनले भनिन्, ‘अर्कासँग माग्नु र आफ्नो साथमा पैसा हुनुमा कति धेरै फरक हुन्छ । पहिले पहिले बुढासँग माग्दा धेरै अप्ठ्यारो हुन्थ्यो अहिले त्यो छैन । खुसी लाग्छ ।’

कल्पनाको नजिकै अर्को ठेला चलाउने बुद्धिमाया मगर पनि कल्पनाको आफ्नै दिदी हुन् । बुद्धिमाया र कल्पनाले सँगसँगै तामा बेच्न आएका हुन् । उनले पनि पहिले फुटपाथमा फलफूल नै बेच्ने गर्थिन् । ३० वर्ष नाघेकी बुद्धिमायाले पनि व्यापार गर्न लागेको चितवन छिरेपछि नै हो । उनले फलफूल बेच्न लागेको तीन वर्ष भयो । उनले विवाह गरेको १३ वर्षपछि व्यापार व्यवसायमा हात हालेकी हुन् । तीन जनाको एकै ठाउँमा ठेला राखेको भएर पनि उनीहरुको बिक्री भइरहेको थिएन । तामा बेचेर नै उनीहरुले महिनामा १५ हजार रुपैयाँ बढी कमाउँछन् । गर्मी र पानीको पर्वाह नगरी ठेला धकेल्दै भरतपुरका विभिन्न ठाउँ डुल्ने उनीहरु आत्मनिर्भर बनेर समाजलाई राम्रो शिक्षा दिइरहेका छन् । झट्ट हेर्दा काम निकै गाहे जस्तो देखिए पनि उनीहरु ठेलाको व्यापारसँगै मनग्गे आम्दानी गरेर आत्मसन्तुष्टि पाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>