Breaking News

भरतपुरकी मेयर रेनु भन्छिन्: भरतपुर दूधमा किसानलाई नगद अनुदान दिने पहिलो स्थानीय तह

Banner

चितवन, असार ४-

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक नीति, नियम र कार्यक्रम तर्जुमा गरी अगाडि बढाएको बताएकी छन् ।

भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानलाई एक रूपैयाँ प्रतिलिटर अनुदानलाई तीन रुपैंयाँ प्रतिलिटर वृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख दाहालले सो बताएकी हुन् ।

सो अवसरमा किसानको समस्यालाई मनन गरेर तीन रुपैंयाँ नगद अनुदान दिने व्यवस्था गरेको बताउँदै उनले भरतपुर महानगर दूधमा प्रतिलिटर नगद अनुदान दिने स्थानीय तहमा पहिलो महानगर भएको बताइन् । महानगरले उत्पादन लागत घटाइ उत्पादकत्व वृद्धि गर्न कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान समेत दिइरहेको बताइन् ।

प्रमुख दाहालले धान रोप्ने आधुनिक उपकरण, बिउ उत्पादन तथा प्रशोधनका लागी आधुनिक उपकरण, आधुनिक गोठ निर्माण सुघारमा अनुदान, जमिन जोत्न ट्रयाक्टरदेखि कृषि उपज ढुवानीका लागि सवारीसाधनसमेत प्रदान गरिएको बताइन् ।

सिँचाइका लागि डिप बोरिङ, स्यालो बोरिङका साथै कृषि सडक, मल बिउमा अनुदानका साथै ठूलो सिँचाइ सञ्जाल निर्माण गर्न महानगरपालिका लागिपरेको बताउँदै उनले यी सबै अनुदानहरू उत्पादकत्व र गुणस्तर वृद्धिका लागि भएकोले यसबाट अत्याधिक लाभ लिन महानगरपालिका भित्रका सम्पूर्ण किसान तथा सहकारी संस्थालाई आग्रह गरिन् ।

सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष ओमप्रकाश पोखरेलले महानगरपालिकाले राहत र अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि निर्माण नै अगाडि बढाएकाले आगामी दिनमा किसानले प्राप्त गर्ने अनुदान सोझै किसानको खातामा पुग्ने व्यवस्था मिलाउन लागिपरेको बताए ।

उनले भरतपुर महानगरपालिकाले गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धि गर्न किसानलाई राहतस्वरूप अनुदानको नीति लिएको बताए । वडा नं ६ का वडाअध्यक्ष हरीबिलास कोइरालाले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दूध उत्पादनसँगै पशुपालन र दाना उत्पादन गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै महानगरपालिकाले प्रदान गरेको अनुदानको अधिक लाभ लिन किसानलाई आग्रह गरेका थिए ।

कार्यक्रममा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका पूर्वअध्यक्ष भागिरथ तिमिल्सिनाले भरतपुर महानगरपालिकाले २५ पैसा प्रतिलिटर अनुदानबाट सुरु गरेको सकारात्मक पहल एक रुपैंयाँ हुँदै तीन रुपैंयाँ पु¥याएकोमा महानगरलाई बधाई दिए ।

उनले भने, ‘भरतपुर महानगर र यसको प्रमुखको यो कदमले आम उत्पादक किसानको मन जितेको छ, अनुदान उत्पादनकै आधारमा हुनुपर्छ ।’ उनले आवश्यकताका आधारमा अनुदानलाई प्रोत्साहित गरी उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिका पशुपंक्षी महाशाखा प्रमुख मेघराज ढकालले भरतपुर महानगरले अनुदान तथा कृषि क्षेत्रको समग्र विकासका लागि कार्यविधि बनाई पारदर्शी र व्यवस्थित बनाएको बताउँदैं दुग्ध उत्पादन वृद्धि र गुणस्तर विकासका लागि तीन रुपैयाँ अनुदान दिएको बताए ।

उनले दुग्धसँगै तरकारी, मत्स्य तथा मासु जन्य उत्पादनको क्षेत्रमा समेत महानगरले अनुदानका लागि काम गरिररहेको उल्लेख गरे । अन्नपूर्ण दुध सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाइँले दुग्ध उत्पादक किसानहरूको समस्या बुझेर दूध उत्पादन किसानहरूलाई उत्पादनको आधारमा तीन रुपैयाँ प्रतिलिटर अनुदान दिने निर्णय गरेकोमा महानगर प्रमुख रेनु दाहाल, महानगरका जनप्रतिनिधि तथा महाशाखालाई बधाई दिए ।

कार्यक्रममा किसान प्रगति सहकारीका अध्यक्ष लिलाबहादुर भण्डारीले भरतपुर महानगरले दुग्ध उत्पादक किसान र समग्र कृषि क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनमा पनि यसलाई अझैं बढाएर लैजानुपर्नेमा जोड दिए । उनले दूधमा दिइएको अनुदानले किसानमा ठूलो उत्साह जगाएको भन्दै अनुदानको सही सदुपयोग गुणस्तर वृद्धिका साथै उत्पादनलाई दोब्बर बनाएर लाभ लिन सहकारी तथा किसानलाई आग्रह गरे । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडाअध्यक्ष नारायण कुँवरले भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान वृद्धि गरी तीन रुपैंयाँ पु¥याएकोमा पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्दै कृषि कर्मका लागि अपरिहार्य मानिएको सिँचाइको प्रबन्ध मिलाइ दिन आग्रह गरे ।

नेपाली कांग्रेसका वडाअध्यक्ष सूर्य अधिकारीले दूध बेच्ने किसानहरूको समस्या दूधमा तीन रूपयाँ वृद्धि गरेर महानगरपालिकाले सम्बोधन गरेको बताए । एमालेका वडाअध्यक्ष रामनाथ अधिकारीले भरतपुर महानगरपालिकाको मूल नेतृत्व मेयर दाहाल भरतपुरको समग्र विकासका लागि कम्मर कसेर लागिपरेको बताउदैं दुग्ध किसानहरुलाई दिइएको अनुदान ठूलो राहत बनेको विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>