राजनीति
माधवकुमार नेपाल भेट्न कोटेश्वरमा पुगे प्रधानमन्त्री देउवा
काठमाडौं,असार ३०-
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । बुधबार साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाको विषयमा छलफल भएको स्रोतको दाबी छ । देउवालाई प्रधानमन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एमाले माधव नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको पक्षमा नेपाल पक्षका २६ सांसदले सर्वोच्च अदालत पुगेरै हस्ताक्षर गरेका हुन् ।
सोही आधारमा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार अन्तरिम आदेश दिएपछि मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री नियुक्त भएपछि मंगलबार साँझ शीतल निवासमा भएको शपथ ग्रहण समारोहमासमेत सहभागी भएका नेता नेपालसँग देउवाको भेटलाई महत्वका साथ हेरिएको छ । शीतल निवासमा नेता नेपालले देउवालाई दिएको बधाईको तस्बिरले चर्चा पाएको थियो ।