Breaking News

बाढीले चितवनका किसान मारमा, सयौं बिगा धानखेती बगरमा परिणत

Banner

चितवन, असार २७–

पूर्वी चितवनको खैरहनी नगरपालिका–१ मा बसोबास गर्दै आइरहेका मोहम्मद सलिनलाई यसपटक धानखेतीबाट राम्रो आम्दानी गर्ने सपना थियो । धानबाट प्राप्त हुने आम्दानीले सुखी साथ परिवार पाल्ने र खेतधनीलाई सहजै भाडा बुझाउने उनको सपना थियो । तर उनको सपना अहिले सपनामै सिमित बन्न पुगेको छ । असार १७ गते आएको बाढीले उनको सपना सबै भताभुंग पारिदियो । बाढीले उनको सबै रोपो नष्ट पारिदियो भने खेत बगरमा परिणत भयो ।

अहिले नष्ट भएको रोपो हेर्दै सलिन झोक्राउँदै बस्छन् । ‘धान रोपेको भर्खर एक साता भएको थियो, बाढीले सबै रोपो नष्ट गरिदियो’ दुखेसो सुनाउँदै सलिन भने–‘म त बर्बाद भए सर, ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने समस्यामा छु ।’

तरकारी खेती गर्दै आइरहेका सलिनले पहिलोपटक १८ कठ्ठा जमिन भाडामा लिएर धानखेती सुरु गरेका थिए । अहिले उनको खेत बगरमा परिणत भएको छ । सबै रोपो बालुवाले पुरिएपछि उनी पीडामा छन् । धान रोप्दा ३० हजार रुपैयाँ खर्च गरेका सलिनले प्रति कठ्ठा ३ हजार रुपैयाँ भाडाबापत साँहुलाई बुझाउनु पर्छ । धानखेती बगरमा परिणत भएपछि उनी अहिले कठिन अवस्थामा छन् । सलिन एक उदाहरण मात्रै हुन् । उनीजस्ता दर्जनौं किसान अहिले यही समस्यामा गुज्रिरहेका छन् ।

पूर्वपश्चिम राजमार्गको दाँयाबायाँ क्षेत्रमा रहेका अधिकांश खेत डुबानले बगरमा परिणत भएका छन् । धेरैजसोको खेतमा बालुवा र ढुंगाले पुरिएर पुनः रोप्नै नमिल्ने अवस्थामा पुगेर किसानले आश नै मारिसकेका छन् भने केहीले लेदो माटोमा जबरजस्ती पुनः रोप्न कोसिस गरिहेका छन् । बाढीले खेतमा लेदो मात्रै भएपछि खैरहनी–२ का श्रीराम अधिकारीले केही जग्गामा पुनः धान रोपेका छन् । वरपरका गाउँबाट विभिन्न किसिमका बीउ संकलन गरेर उनले थोरै ठाउँमा पुनः धान रोपेका छन् । ‘किसान भनेकै आशैआशमा चल्ने हुन्, मैले पनि आशमै पुनः धान रोप्न थालेको छु’ अधिकारीले भने ‘खेत किन बाझो छोडने भनेर सबै थोकको बीउ संकलन गरेर लगाएको छु ।’ बाढीले अधिकारीको डेढ बिगा खेतमा क्षति पुगेको छ । केही भागमा लेदो भरिएको छ भने केहीमा बालुवा र ढुंगाले भरिएको छ । बाढीले पुरै खेतमा क्षति पुगेपछि अधिकारीले विकासले नै बिनास नित्याएको ठान्छन् । ‘विकासले नै बिनास निम्त्याइरहेको छ, खोलाहरु कुला भए, कुलाहरु नाला भए, सडकको लेभलमा कुलो भएपछि बाढी आइहाल्छ’–अधिकारीले भने ।

खैरहनीकै केदार रिजालको पनि साढे ६ कठ्ठा जग्गामा लगाईएको धानखेती पूर्णरुपमा क्षति पुग्यो । खेत पुरै बगरमा परिणत भएपछि उनले फेरि धान रोप्न कुनै सुरसार कसेको छैन । ‘बीउ राख्दा नै २०/२५ दिन लाग्छ, कहिले रोप्ने ?’ रिजालले भने ‘धान रोप्दा साउन अन्तिममा पुग्छ, फेरि अर्को बाढी आयो भने सबै खत्तम हुन्छ किन रोप्नु ।’

सरकारले खोलाहरुमा तटबन्धन नगरिदिँदा अहिले यो समस्या भोग्नु परेको रिजाल गुनासो गर्छन् । वि.संं.२०५९ सालमा आएको बाढीले पनि पूर्वी चितवनको धानखेतमा यस्तै क्षति पु¥याएको थियो । यसपटक आएको बाढीले पूर्वी चितवनका खैरहनी, रत्नननगर, राप्ती र कालिका नगरपालिकामा क्षति पु¥याएको छ । सबैभन्दा बढी धानखेती खैरहनी नगरपालिकामा क्षति पुगेको छ । नगरपालिकाले अहिले क्षतिको विवरण संकलन गर्ने क्रम जारी राखेको छ । नगर प्रमुख लालमणि चौधरीले अहिले क्षतिको विवरण संकलन गरिरहेको भन्दै किसानको घाउँमा मलम लगाउने काम गरिने बताए । ‘किसानलाई विगतमा पनि अनुदान दिएर सहयोग गर्दै आइरहेका थियौं, अहिले पनि सहयोग गर्छौ’ मेयर चौधरीले भने ‘बिमा गरेकालाई कम्पनीलाई नै दिन्छ, नगरेका किसानलाई हामी सहयोग गर्छौ ।’

चितवनमा कुल ३३ हजार ८३६ हेक्टर खेतीयोग्य जमिन छ । १९ हजार ८९३ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइन्छ । यसपटकको बाढीले पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका गरी करिब ५ सय बिगामा लगाइएको धानखेती नष्ट गरिदिएको छ । सबैभन्दा बढी खैरहनीमा ३०० सय बिगा, रत्ननगरमा करिब २०० बिगामा धानखेतीमा क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>