Breaking News

कोरोनाले चितवनका ७०० बढी नेचर गाइडको रोजगारी गुम्यो, विकल्पका बाटोहरु खोज्दै

Banner

चितवन, असार २६-

चितवनको पर्यटकीय गतिविधिमा पहिलो पंक्तिमा रही कार्य गर्दै आएका नेचर गाइडहरुको अहिले रोजगारी गुमेको छ ।

कोरोना संक्रमणका कारण चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि पनि रोकिएपछि उनीहरुको रोजगारी गुमेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जंगल सफारी र सांस्कृतिक पर्यटन र यहाँको संरक्षणमा नेचर गाइडले काम गर्दै आएका छन् । निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको वन्यजन्तु संस्कृति, वन्यजन्तु र वातावरणको महत्वलगायतका विषयहरुको जानकारी दिने उनीहरु अहिले बेकाम बन्नु परेको गुनासो छ । नेचर गाइड एशोसिएसन चितवनले आज सौराहामा पत्रकार सम्मेलन गरी सफारी पर्यटन सुचारु गरी रोजगारी सृजना गर्नु पर्नेलगायत विभिन्न माग अघि सारेका छन् ।

नेचर गाइड पर्यटनको पहिलो पंक्तिमा रही काम गर्ने पर्यटनकर्मी रहेकाले कोरोना भाइरसको जोखिममा रहने हुँदा सफारी पर्यटन सञ्चालन गरी खोप उपलब्ध गराउनु पर्ने नेचर गाइड एशोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘पर्यटकीय गतिविधिमा हामी अग्रस्थानमा हुन्छौं’ अध्यक्ष धामीले भने, ‘पर्यटन क्षेत्र खुला हुने अवस्था छ, हामीलाई खोपको व्यवस्था होस् ।’

एशोसिएसनले चितवनको सफारी पर्यटनको दक्ष जनशक्ति पलायन भई भविष्यमा सफारी पर्यटनमा हुने क्षतिलाई रोक्न वार्षिक नविकरण शुल्क मिनाहा गर्नुपर्ने, नेचर गाइडहरु स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउने मात्र नभई चितवन राष्ट्रिय निकुञ्जको पेरीफेरीमा वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काम गर्दै आएकोले यस्ता गतिविधिमा नेचर गाइडलाई संलग्न गराई रोजगारी सृजना गर्नुपर्ने, आफ्नो पेसा मर्यादित र प्राविधिक बनाउनको लागि नेचर गाइड कार्यविधि बनाउनुपर्ने माग राखेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पथ प्रदर्शकको कार्य गर्ने गाइडहरुको संख्या ७०० बढी छ । जसमा नेचर गाइड पेसा अगालेका करिब ५०० जना छन् त्यसमध्ये सौराहामा ४०० जना छन् भने १५० जना होटलमा गाइड अफिसमा र १०० स्वतन्त्ररुपमा काम गर्दै आएका छन् । राष्ट्रिय निकुञ्जको मेघौली, घटगाई, अमलटाँडी र माडीलगायतका ठाउँहरुमा १०० बढी रहेका छन् । पत्रकार सम्मेलनमा एशोसिएसनका पूर्वअध्यक्ष उदयचन्द्र अर्यालले गाइडको रोजगारी गुम्दा कतिपय नेचर गाइडले अन्य ज्यालादारी काम गरेर जिविकोपार्जन गरिरहेको बताए । पर्यटन गतिविधि सञ्चालन भएको बेला उनीहरुले न्यूनतम २० हजारदेखि अधिकतम ७० हजारसम्म मासिक आम्दानी गर्थे । हात्ती सफारी बाहेक अरुमा नेचर गाइडको आवश्यकता पर्छ । पर्यटन व्यवसायी टिकाराम गिरी प्रकृति बुझेको, वनवन्यजन्तु बुझेका गाइडहरुले राम्रो आम्दानी गर्ने गरेको बताउँछन् । गिरीका अनुसार काममा दक्ष गाइडले दैनिक एक हजार ८०० सम्म पाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>