Breaking News

भरतपुर महानगरको कृषि अनुदानमा आवेदन दिनेको संख्या न्यून, सबै किसानले सूचना पाएनन् की अनुदान चाहेनन् ?

  • Logo
    app haru
  • २० असार २०७८, आइतबार
Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार २०
भरतपुर महानगरको कृषि अनुदानमा किसानहरु आकर्षित नभएको पाइएको छ ।

महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाका अनुसार अनुदान दिने भनेर तोकिएको लक्ष्ति संख्याभन्दा पनि कमको आवेदन परेको छ । विशेष गरी पशु, पंक्षी तथा मत्सय विकास कार्यक्रमको अनुदानमा किसानहरुको आवेदन लक्ष्यभन्दा पनि कम परेको शाखाका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए ।

कृषक फार्महरु धेरै भएको भएर नै लक्ष्य तोकिएको भए पनि लक्ष्य जति पनि आवेदन नपर्दा अचम्म लागेको ढकालले बताए । सबै किसानसामु सूचना पुगेन की किसानले अनुदान लिनै चाहेनन् ? अहिले यो प्रश्न गम्भीर बनेको छ ।

पशु अधिकृत ढकालका युवा लक्ष्ति बाख्रा कार्यक्रम ५ जनामा लागु गर्ने योजना थियो । ५० प्रतिशत ननाघ्ने गरी प्रति फर्म २ लाखका दरले अनुदान दिने योजना थियो । यसमा ५ जनाले नै आवेदन दिएका छन् र पाँच जना नै छनोट भएका छन् ।

नयाँ फार्म स्थापनाका लागि युवा लक्ष्ति ग्रामिण कुखुरा विकास कार्यक्रमका लागि ५० प्रतिशत ननाघ्ने गरी प्रति फर्म २ लाखका दरले ३ वटा फार्मलाई अनुदान दिने योजना थियो । यसका लागि आवदेन पनि तीनै वटाको परेको छ । र तीन जना नै छनोट भएका छन् ।

यस्तै प्रति लिटर दुधमा १ रुपैयाँका दरले अनुदान दिने महानगरको योजना थियो । १ करोड ७० लाख लिटर दुधमा सो अनुदान दिने लक्ष्या थियो । तर १ करोड ५८ लाख १५ हजार ८४४ लिटर दुधमा मात्र अनुदान दिइएको छ ।

यस्तै गोठ/खोर सुधार एवम् जैविक व्यवस्थापनमा सहयोग कार्यक्रम ३० वटा फार्ममा लागु गरिने योजना थियो । प्रति किसान तथा फार्मलाई १ लाखका दरले अनुदान दिने भनिएको थियो । तर जम्मा १६ वटा आवदेन परेका थिए । जसमा १३ जना छनोट भएका छन् । ३ वटाको मापदण्ड पुरा नभएकाले छनोटमा नपरेको ढकालले बताए ।

५० भन्दा बढी बाख्रापालन गर्ने फार्मलाई १० वटा बाख्रा खरिदमा अनुदान दिने योजना थियो । ३० वटा फार्मलाई दिने लक्ष्य राखिएको थियो । तर जम्मा ६ वटा फार्मको आवेदन परेको र जसमा ४ जना छनोट भएका पशु अधिकृत ढकालले जनाए । यो कर्यक्रमका लागि ५० प्रतिशत ननाघ्ने गरी प्रति फार्मलाई १ लाख रुपैयाँ छुट्याइएको थियो ।

२९ जनामा लागु गर्ने गरी माछा–मासु पसल सुधारमा सहयोग कार्यक्रम ल्याइएको थियो । तर जसमा २ जनाले आवेदन दिएका छन् । २ जना नै छनोट भएका छन् । ५० प्रतिशत अनुदान दिने योजना थियो ।

मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम २७ जनामा लागु गर्ने गरी ल्याइएको थियो । तर १७ जनाले मात्र आवेदन दिएका छन् । जसमा १५ जना छनोट भएका छन् । दुई जनाको फाइल पूरा नभएकाले छनोटमा नपरेका पशु शाखा अधिकृत ढकालले जानकारी दिए । यसका लागि किसानलाई ५० प्रतिशत अनुदान योजना थियो ।

यस्तै १० वटा पशु फार्मलाई ह्लि ब्यारो वितरण गर्ने लक्ष्य राखिएको थियो । तर यसका लागि दुई वटाको मात्र आवेदन परेको र दुई वटैलाई वितरण गरिएको ढकालले जनाए ।

यस्तै ५० फार्मलाई इलेक्ट्रिक च्याफकटर वितरण गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको थियो । तर मझौला कृषकतर्फ ४ र साना कृषकतर्फ ७ वटा गरी जम्मा ११ वटा फार्मले आवेदन दिएका थिए । जसमा सबै छनोट भएका छन् । यसमा ५० प्रतिशत अनुदान दिइएको थियो ।

यस्तै २०० वटा काउम्याट वितरण गर्ने लक्ष्य राखी कार्यक्रम ल्याइएको थियो । तर ६ वटा फार्मले गरी जम्मा १२१ वटा मागेको र सबैलाई छनोट गरिएको अधिकृत ढकालले जनाए । यसमा पनि ५० प्रतिशत अनुदान दिइएको थियो ।

एक वडा एक पशु फार्म आधुनिकीकरण कार्यक्रम ल्याइएको थियो । जुन वडा नम्बर १७ र २४ मा मात्र लागु भएको छ । यसमा ५ लाख नकट्ने गरी ५० प्रतिशत अनुदान दिइएको थियो ।

माथिको तथ्यांकलाई विश्लेषण गर्दा महानगरमा ल्याइएको कृषि अनुदानतर्फ किसानहरु आकर्षित नभएको देखिन्छ । लक्ष्य राखिएभन्दा पनि कमको संख्या आवेदन पर्नुको कारणबारे केही बुझ्न सकिएको छैन । सबै किसानसामु सूचना नपुगेर पो हो की आवदेन थोरै आएका भनेर हामीले प्रश्न ग¥यौं ।

‘कृषक फार्महरु धेरै भएको भएर नै सिमित संख्याको लक्ष्य राखिएको हो, पशु अधिकृत ढकालले भने, ‘महानगरको वेभसाइटमा सूचना निकालिएको थियो । यस्तै वडाहरुलाई जानकारी गराइएको थियो । सायद सूचना पाउनबाट कोही किसान छुटेनन् होला ।’ वेभसाइट सबै किसानले हेर्न सक्दैनन् अनि वडाले सबै किसानसामु सूचना पूर्‍यायो की नाई ? यो आम किसान पाठकहरुले नै मूल्यांकन गर्नुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>