Breaking News

जथाभावी डोजर लगाएर बाटो खन्दा नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गइरहेको इन्जिनियरको भनाइ

  • Logo
    app haru
  • १९ असार २०७८, शनिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार १९
नारायणगढ मुग्लिन सडकखण्डमा पटकपटक पहिरो खस्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । देशको राजधानी काठमाडौं छिर्ने मुख्य सडक भएकाले उक्त सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ ।

सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालका अनुसार हालसम्म सेती दोभान, चारकिलो, पाँचकिलोमा ठूलो पहिरो खसेको छ । चारकिलो र पाँचकिलोमा पटकपटक पहिरो खसिरहेको छ । विगतमा पनि पटकपटक पहिरो खसिरहने ठाउँ चारकिलो रहेको उनले बताए ।

यस वर्ष नयाँ ठाउँ सेती दोभानमा ठूलो पहिरो खसेको उनले बताए । यस्तै चौध किलोमा एउटा ठूलो ढुङ्गा खसेको छ । त्यसलाई सडकबाट हटाउन फुटाएर पन्छाउने काम भइरहेको छ ।

पछिल्लो समय कहिल्यै पहिरो नखसेको र खस्ला भन्ने अनुमान पनि नगरेको स्थानमा पहिरो गइरहेको इन्जिनियर खनालले जानकारी दिए ।

‘नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने, पहिरो फाल्ने र पहिरो रोकथामको काम गर्ने सिलसिलामा यो सडकखण्डमा पछिल्लो ६ वर्षदेखि अविरल रुपमा सम्बन्धित रही काम गरिरहेको छु, उनले भने, ‘पोहोर सालसम्म आइपुग्दा अब त शान्त भयो होला भन्ने विश्वास लागेको थियो । अहिलेको यो अवस्थाले त्यो विश्वासमा कमी आएको छ । नयाँ नयाँ ठाँउहरुमा याक्टिभ स्लोप फेलर देखिएका छन् ।’

पछिल्लो समय पहिरो जानुका प्रमुख कारणहरुमध्ये जथाभावी रुपमा खन्ने शाखा सडकहरु एक रहेको उनले बताए । यहाँको भौगोलिक बनावट पनि कमजोर भएकाले निरन्तर वर्षा हुँदा पहिरो गएको उनले बताए । जलबिरेदेखि मुग्लिनसम्म बढी जोखिम क्षेत्र मानिएको र विगतमा धेरै पहिरो पनि यही क्षेत्रमा खस्ने गरेको भए पनि यस वर्ष जलबिरेदेखि दासढुङ्गासम्मको क्षेत्रमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको उनले बताए ।

पहिरो जानुको प्रमुख कारण जथाभावी रुपमा शाखा सडक विस्तार गर्नु नै रहेको उनले बताए । धादिङ्गतर्फको क्षेत्र (मुग्लिन–काठमाडौं सडकखण्ड) मा पनि जथाभावी डोजर लगाएर शाखा सडक विस्तार गर्दा धेरै पहिरो गइरहेको उनले बताए ।

‘अहिले जति पनि पहिरोको समस्या छन्, त्यसको ७० प्रतिशत कारण जथाभावी शाखा सडक विस्तार हो’ उनले भने, ‘डोजर लगाएर बाटो खन्यो । माटो तल राख्यो । खनेरमात्र बाटो बिस्तार गर्न भएन । हो पहाडमा जाने बाटो चाहिन्छ बनाउनुपर्छ तर इन्जिनियरले डिजाइन गरेरमात्र गर्नुपर्छ । त्यत्तिकै अपेरटरले डोजर लगाएर हुँदैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>