चितवन विशेष
लमजुङका बाढीपहिरो पीडितलाई चितवनबासीको सहयोग

चितवन, असार १२ –
चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाडावर्तन सहयोग गरेको छ ।
क्लबले गत असार १ गते मस्याङ्दी र दोर्दी नदीमा आएको बाढीमा परी घरबारविहीन भएका ७५ परिवारलाई खाद्यान्न र भाडावर्तन सहयोग गरेको हो ।
चितवन रोटरी क्लबका पूर्बअध्यक्ष तथा रोटरी डिस्ट्रिकट सर्भिस चेयरम्यान उत्तमलाल चुकेको नेतृत्वमा नारायणगढ़बाट गएको चितवन रोटरीको टोलीले जिल्लाको दुई स्थानमा स्थानीय निकायको रोहबरमा बाढी प्रभावितहरूलाई राहत सामग्री प्रदान गरेको हो ।
लमजुङको दोर्दी गाउँपालिका–५ हिलेमा बाढी प्रभावित २५ र मस्याङदी गाउँपालिका ३, ७ र ८ वडाका ५१ परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रोशन पियाले जानकारी दिए ।
यसैगरी क्लबका पूर्बअध्यक्ष दिलीप पिया, कोषाध्यक्ष गेहेन्द्र श्रेष्ठले पीडित परिवारलाई सहयोग प्रदान गरेका थिए । राहत वितरणको लागि नारायणगढको लक्ष्मी नारायण ट्रेडिङ, समाजसेवी प्रेमकुमार श्रेष्ठ, हरिकृष्ण महर्जन तथा रोटरी सदस्यहरूले आर्थिक सहयोग उपलब्ध गराएको क्लबका पूर्वअध्यक्ष उत्तमलाल चुकेले जानकारी दिए । राहत वितरणमा लमजुङ रोटरी क्लब र व्यवसायी राजाराम प्रधानले विशेष सहयोग गरेका थिए । सो राहत वितरण कार्यक्रम क्लबका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्य संयोजनमा सम्पन्न भएको हो ।
























