Breaking News

चितवनकी ठूलीमाया चेपाङको खुसी : राहत लिन भोकभोकै डेढ घण्टाको यात्रा

Banner

मनिका विश्वकर्मा

माडी, असार ९ –

गत शनिबार बिहानको ११ बज्दै थियो । लाइनमा प्राय जसो सबै महिलाहरुको नै बाक्लो उपस्थिति थियो । ठूलीमाया चेपाङ पनि लाइनमा नै थिइन् । बस्तुभाउलाई घाँस कुढो गरेर ठूलीमाया भोकै पेट दौडिएर वडा कार्यालय आइपुगेकी थिइन् ।

माडी नगरपालिकाको वडा नं. ७ स्थित शिवद्धारमा बस्ने उनीहरुलाई वडा कार्यालय आइपुग्न करिब डेढ घण्टा लाग्छ । सामाजिक अभियन्ता तथा चिकित्सक डा.सुवास बस्नेतको पहलमा लियो क्लब अफ युथ क्लबको नेतृत्वमा त्यहाँ राहत बाडिँदै थियो । राहतकै लागि ठूलीमाया पनि डेढ घण्टा पैदल हिडेर वडा कार्यालय आइपुगेकी थिइन् । उनले राहत स्वरुप एक बोरा चामल, नुन, तेल, चना र केराउ पाइन् ।

राहतको पालो कुर्दाकुर्दै २० जनापछि ठूलीमायाको राहत पाउने पालो आयो । वडाअध्यक्षले ठूलीमाया ल तिमीलाई बधाई छ भन्दै राम्रो संग पु¥याएर खानु भन्दै थिए । माडीको आकाश कालो बादलले छोपिँदै थियो । शीतल हावासँगै उनको मुहार मन्द मुस्कानसँगै हसिलो बन्दै थियो । पानी पर्ला जस्तै भइरहेको थियो । उनी छिट्टै घर जान हतारमा थिइन् । श्रीमान् बितेपछि छोराछोरीलाई आफै हुर्काउँदै आएकी उनको उमेर अन्दाजी ६० वर्ष पूरा भइसकेको छ ।

ठूलीमायाले राहत लगेर नै पेटभरी खान पाउने बताएकी छन् । उनले भनिन्, ‘आज तुहियो खान । अब यो चामल लगेर पकाएर खाने हो । ’
उनका छोराहरु इन्द्रबस्ती भन्ने ठाउँमा जालीको काम गर्छन् । काम नभएको भए छोराहरु नै राहत लिन आउने उनले बताइन् । ठूलीमायाको जेठी छोरी साइलीमाया पनि राहतको लागि आमासँगै आएकी थिइन् । पहिला अन्य संस्थाबाट दिएको राहत सकिएको उनले बताइन् ।

मेलापात र घरधन्दा साइलीमायाको नियमित काम हो । अरुको खेतबारी अधिया गर्दै आएका उनीहरुले आधा मात्रै बाली थन्काउन पाउँछन् । उक्त राहतले उनीहरुलाई एक महिना खान पुग्छ । कहिले ढेडो, कहिले भात गरेर असार भरी खान पु¥याउने उनको योजना छ । पाँच जना परिवार रहेका उनीहरुको लगातार बर्षा हुँदा खोलाको पानी घरभित्र पस्ने गर्छ । साइलीमायाको घरमुली छैनन् । अर्कै श्रीमती लिएर साइलीमायालाई छोडेर हिडेको करिब पाँच वर्ष पुगेले उनले सुनाइन्, ‘श्रीमान् हुँदा अलिअलि भए पनि हामीलाई सघाउँथे । अहिले एक्लैलाई सबै घरखर्च धान्न गार्हो भएको छ ।’ दाहिने खुट्टा सुन्निएकाले पछिल्लो समय काम गर्न नसकेको उनले बताइन् ।

अन्नबाली पनि पाकिनसकेकोले त्यहीमाथि निषेधाज्ञाको कारण उनीहरुलाई खानलाई समस्या भएको हो । वर्षाको समय बाढी पनि आउने भएकोले उनीहरुको बस्तीलाई झन् धेरै जोखिम रहेको देखिन्छ । आर्थिक रुपले कमजोर भएका उनीहरुलाई आफ्ना आधारभूत आवश्यकताहरु पूरा गर्न पनि समस्या भएको छ । माडीका चेपाङ बस्तीहरु अहिले राहतको भरमा नै बाँचिरहेका छन् । विभिन्न संघसंस्थाहरुबाट उनीहरुलाई राहत सहयोग गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>