चितवन विशेष
पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्य सचेतनाका लागि चितवनमा मोटरसाइकल र्याली हुँदै

भरतपुर,जेठ ४-
पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका लागि चितवनमा मोटरसाइकल र्याली गर्न लागिएको छ । रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले शनिबार सचेतनामूलक मोटरसाइकल र्याली ‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड–२०२४’ आयोजना गर्न लागेको हो ।
संसारका विभिन्न प्रमुख सहरहरुमा हुने यस प्रकारको कार्यक्रम नेपालमा पनि यस वर्ष चितवन, काठमाडौं, धरान र हेटौडामा स्थानिय मोटरसाइकल क्लब हरुको सहभागितामा हुने रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो। र्यालीमा करिब एक सय पचास क्लासिक भिन्टेज मोटरसाइकलहरु सहित औपचारिक ड्यापर ड्रेसमा विभिन्न उमेर समुहका राइडर्सहरु सहभागी हुने अनुमान रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवनका अध्यक्ष प्रितम श्रेष्ठले बताए । क्लबले चितवनमा विगत छ वर्षदेखि सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।
आममानिसलाई आकर्षण गर्नका लागि मोटरसाइकल र्याली गर्न लागिएको उनको भनाइ छ । र्याली सम्पन्न भएपश्चात् चिकित्सकहरुले क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्ने उनले जानकारी दिए। शनिबार भरतपुर महानगरपालिकाको कार्यालयअगाडिबाट सुरू हुने र्याली सहरका विभिन्न क्षेत्रको परिक्रमा गरी बाइपास रोडस्थित अताली रेस्टुरेन्टमा पुगेर समापन हुनेछ।
बकुलहर रत्ननगर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. शशांक कुमार सिंहले प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना वृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । क्लबका सदस्यसमेत रहेका डा. सिंहले क्लबले निकट भविष्यमा प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए । ५० वर्ष उमेर नाघेका पुरूषमा प्रोस्टेट क्यान्सरको जोखिम बढी हुन्छ । प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरू हुन्छ । सबै पुरूषको मूत्राशयको नलीआसपासमा प्रोस्टेट ग्रन्थी रहेको हुन्छ । प्रोस्टेटले एक गाढा तथा सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसित मिलेर वीर्यको उत्पादन गर्छ, जसले वीर्यलाई तरल बनाउँछ । प्रोस्टेट ग्रन्थीको पछाडिको भाग गुदद्वारको नजिक रहेको हुन्छ । जब यो ग्रन्थीका कोशिका असामान्यरुपमा बढ्छ तब प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले समय-समयमा चिकित्सकलाई भेटेर परीक्षण गर्नुपर्ने डा.सिंह बताउँछन ।
मोटरसाइकल र्यालीमा सम्मिलित राइडर्सहरुको लागी विभिन्न पुरस्कार र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि हुने क्लबका सचिव रुक्सन गुरुङले बताए।
























