चितवन विशेष
उवासंघ चितवनद्धारा मुग्लिन हाइवे अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, जेठ २३-
उद्योग वाणिज्य संघ चितवनले मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
संघले शनिबार इच्छाकामना स्थित मुग्लिन हाइवे अस्पताललाई करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संघका अध्यक्ष राजु श्रेष्ठले अस्पतालका अध्यक्ष रामबहादुर लामालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय भन्दा स्वास्थ्य ठूलो कुरा भएको बताउँदै संघको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिए । गैह्रनाफामूलक संस्थाको रुपमा मुग्लिन बजार क्षेत्रमा स्थापना भएर पनि चितवनका ग्रामीण क्षेत्रका मानिसलाई स्वास्थ्य सेवा दिँदै आएको उक्त अस्पतालले राज्यबाट खासै सहयोग नपाएको हुँदा सो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । उक्त अस्पतालले ४० शैयाको आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी गरेको हुँदा उक्त स्वास्थ्य सामग्री कोरोना संक्रमण नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष रामबहादुर लामाले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा उवासंघ चितवन र आवश्यक समन्वय गरेकोमा उवासंघ इच्छाकामनालाई धन्यवादसहित आभार प्रकट गरे । प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम सदुपयोग हुनेमा ढुक्क हुन आग्रह गर्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदी, कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिष पन्त, कार्यसमिति सदस्य विकास थापा, मुक्तिकुमार श्रेष्ठ, लिलबहादुर क्षेत्री, संघको क्षेत्रीय संघ उवासंघ इच्छाकामनाका अध्यक्ष कल्याण गुभाजुलगायतको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ चितवनले कोरोना राहत कोष स्थापना गरेर ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका मानिसहरुलाई खाद्यान्न वितरण गर्दै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
लकडाउनले रोजगारी गुमाएका मानिसहरुको खाद्यान्न अभावको अवस्थालाई ध्यानमा राखेर कोरोना राहतकोष स्थापना गरिएको बताउँदै उनले उक्त कोष निम्न वर्गीय मानिसहरुलाई वरदान सावित हुन पुगेको बताए । गतवर्ष आफ्ना सदस्यहरुलाई कोरोना बिमाको व्यवस्था गरेको संघले यसवर्ष विभिन्न क्षेत्रका मानिस एवम् संघसस्थाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
























