Breaking News

चितवनमा आमाको नामबाट नागरिकता लिन बञ्चित भएकाहरु भन्छन्ः अब न्याय पाइन्छ कि भन्ने आशा छ

Banner

मधुसूदन दवाडी

चितवन, जेठ १०

जीवन महतो खैरहनी नगरपालिका–६ पुरानो पर्साका स्थानीय बासिन्दा हुन् । उनले भवानी शंकर बहुमुखी क्याम्पसबाट १२ कक्षा उतीर्ण गरे । उनको आमा ७४ वर्षीय संसरिया महतोका उनी कान्छा छोरा हुन् । परिवारमा बुबा शिव पूजन पासवान, दुई छोरा र दुई छोरी रहेका छन् । नेपालको सिमा क्षेत्र भारतबाट चितवन आएका पासवानसँग चितवनमा संसरियासँग विवाह भयो । उनीहरुको परिवार विगत ४० वर्षदेखि चितवनमा नै बसेर खेती र व्यवसायमा रमाए । छोराछोरी हुर्के, बढे तर आमा बाहेक परिवारका कसैले पनि नेपाली नागरिकता पाएनन् ।
बुबा सानै उमेरमा नेपालमा आइबसेकोले उनको पनि भारतीय नागरिकता छैन । २८ वर्षीय जीवनले नारायणी अनलाइनलाई भने, ‘४० वर्षदेखि चितवनमा नै कृषि कर्ममा रमाइरहेकोले हाम्रो परिवारलाई चितवन बाहेक अन्य ठाउँको बारेमा कुनै जानकारी छैन । बुबा पनि सानैदेखि यतै बसेकोले र भारतमा बुबाको कोही पनि हुनुहुन्न ।’

खैरहनीमा नै बिजुलीको काम गर्ने २८ वर्षीय महतोले १२ कक्षा उतीर्ण गरेपछि नागरिकता नभएकोले नत पासपोर्ट बनाएर विदेश जान पाए नत बैँकको खाता खोल्न नै पाए । उनी एकपछि अर्काे समस्यामा परे । उनी नत बुबाको ठेगाना खोज्दै भारत जान सके नत कयौं प्रयास गर्दा पनि आमाको नामबाट नागरिकता पाउन सके । एकपछि अर्काे पीडामा पर्दे गए । उनले भने, ‘बैँक खाता पनि खोल्न नपाएर आमाको नाममा बैँक खाता खोलेर चलाइरहेको छु । विदेश जाने रहर भए पनि पासपोर्ट बनाउन पाइन । केही उपाय नभएपछि बिजुलीको काम गरेर दिन गुजारिरहेको छु । नागरिकता नहुँदा लाइसेन्स पनि बनाउन पाएको छैन ।’ समस्या जीवनको मात्र होइन उनका दाजु उमेरले ३५ वर्ष भए । दाजुको हालत पनि त्यस्तै छ । उनले भने, ‘ नागरिकता नहुँदा हाम्रो परिवारमा सबै समस्यामा छौं । हाम्रो परिवारले आमाको नाममा नागरिकता लिन गरेको प्रयास झण्डै २० वर्ष भइसक्यो ।’

महतो जस्ता चितवनमा आमाको नाममा नागरिकता कुरेर बस्नेहरु झण्डै १०० जना जति रहेको कानुन व्यवसायीहरु बताउँछन् । पूर्वचितवनकै अर्का विवेक (नाम परिवर्तन) ले भरतपुरबाट बीबीए तहको अध्ययन पूरा गरे । उनको बुबा कहाँ हुनुहुन्छ ठेगान छैन । आमा चितवनमा नै जन्मिएर नागरिकता लिएकी हुन् । उनी आमाको नाममा नागरिकता लिनको लागि वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासनदेखि पत्रकार महासंघ चितवनको भवनमा लफर्म खोलेर बस्ने अधिवक्ता जनक पौडेलकोमा पटकपटक पुगे । तर, यो सम्बन्धी प्रवधान नै केही छैन भन्ने जवाफ पाएर फर्किए । उनले नारायणी अनलाइनलाई भने, ‘ नागरिकता नहुँदा कुनै पेसा, व्यवसाय गर्नेदेखि लाइसेन्स बनाउनेसम्मको समस्या भएको छ । बैँकमा जागिर गर्दा पनि नागरिकता मागेर हैरान गर्छ । कसरी कहाँबाट ल्याएर दिनु । सरकारले नागरिकता सम्बन्धी बिधेयक ल्याएको छ । अब भोलि नै नागरिकता बनाउन जान्छु । अब केही हुन्छ कि भन्ने आशा छ ।’ उनले दिदीहरु विवाहित भए पनि नागरिकता नहुनाले नागरिकता बनाउन समस्या परेको बताए । एकदमै पीडामा सबै जना रुमल्लिरहेको भन्दै उनले नातासम्बन्धमा केही असर पर्ने भएकोले परिवारको पहिचान नारायणी अनलाइनलाई खुलाउन चाहेनन् । कि त यस्ता नागरिकहरुलाई सरकारले छिटोभन्दा छिटो नागरिकता दिनु प¥यो कि त अन्य बैकल्पिक व्यवस्था गरेर काम गरेर खाने वातावरण गरिदिनु प¥यो भन्ने उनीहरुको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>