Breaking News
संसद विघटनविरुद्ध आज सर्वोच्चमा रिट हाल्न जाँदै विपक्षी गठबन्धन

काठमाडौँ, जेठ १०–
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात संसद विघटन गरेपछि विपक्षी गठबन्धनका सांसदहरु रिट हाल्न आज (सोमबार) सर्वोच्च अदालत जाँदैछन् ।
राष्ट्रपति भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज बिहान सर्वोच्च जान लागेका हुन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालका अनुसार गठबन्धनको टोली कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत पुग्नेछ ।
रिट हाल्ने प्रयोजनका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेका थिए ।
























