Breaking News
चितवन निकुञ्जमा गैंडा मारेर फरार भएका तस्कर १२ वर्षपछि पक्राउ

चितवन, जेठ ८–
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेर खाग तस्करीमा संलग्न फरार एक व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । चितवनको साविक सिद्धि गाविस–३ सैपाङ (हाल कालिका नगरपालिका) घर भएका बिन्द्र सिंग भन्ने सागर प्रजालार्इ तनहुँको ब्यास नगरपालिका–११ घासीकुवा ठुलोचौर भन्ने स्थानबाट चितवन राष्ट्रिय निकुन्जबाट खटिएको विशेष टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
आफ्नो घर ठेगाना बदल्ल्दै लुकिछिपी बसेको अवस्थामा उनलाई शुक्रबार पक्राउ गरिएको हो । पक्राउ परेका प्रजा २०६७ पुस १९ गते चितवन राष्ट्रिय निकुन्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैडालाई गोली प्रहारगरी खाग तस्करी गरेको अभियोगमा २०६७ चैत २७ गते चितवन राष्ट्रिय निकुञ्जमा दर्ता भएको मुद्दाका १९ प्रतिवादी मध्ये एक हुन् । २०७२ साल असार ३० गते भएको फैसलामा प्रजालाई १५ वर्ष कैद र १ लाख जरिवाना ठहर भएको थियो । उच्च अदालत पाटन हेटौडाको संयुक्त इजलास २०७४ फाल्गुन १५ को पुनरावेदनबाट समेत १५ वर्ष कैद र १ लाख जरिवाना सदर गरिएको थियो । प्रजासंगै उक्त मुद्दामा ७ जना फरार थिए ।
बिन्द्र सिंग २०६०/६१ पछी लगातार गैंडा चोरी सिकारमा संलग्न रहेको पाइएको र उनलाई उल्लेखित मुद्दा लगायत ३ वटा मुद्दाहरुमा दोषी ठहर गरिएको छ । उनले कम्तिमा पाँच वटा गैंडा मारे अनुसन्धानबाट खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । उनले आफुलाई ठुलो कान्छा प्रजा, बिन्द्रा प्रजा र सागर प्रजा लगायतका नामहरुबाट सिकारमा संग्लन भएको अनुसन्धानबाट खुलेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा यो संगै गैडा मुद्दामा २५ जना पक्राउ परेका छन् । सो मध्ये ४ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।
























