चितवन विशेष
फोनिज चितवनलाई मगर सांस्कृतिक संघले दियो स्वास्थ्य सामग्री

चितवन, जेठ ६–
नेपाल मगर सांस्कृतिक संघ चितवनले आज (बिहीबार) चितवनका आदिवासी जनजाति पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ।
संघकी अध्यक्ष प्रेमकुमारी आलेमगर, उपाध्यक्ष रमेश रानामगर र सल्लाहकार ईश्वर रानामगरले स्वास्थ्य सुरक्षाका सामग्री आदिवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका सचिव तुलमान गुरुङलाई हस्तान्तरण गरे। संघले फोनिजसँग सम्बन्धित पत्रकार तथा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै १०० थान कोरियन मास्क, ५० थान ह्याण्ड स्यानिटाइजर र २० थान फेस सिल्ड सहयोग गरेको हो।
कुनै पनि आदिवासी जनजाति पत्रकार तथा सञ्चारकर्मीहरुले स्वास्थ्य सुरक्षाका सामग्रीको अभावका कारण कोरोना महामारीको बेला संक्रमणमा नपरोस् भन्ने उद्देश्यले थोरै भए पनि राहत दिनको लागि सहयोग गरेको संघकी अध्यक्ष प्रेमकुमारी आलेमगरले बताइन्। संघको सानो सहयोगले सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुलाई आफ्नो कर्ममा थोरै भए पनि टेवा पुग्ने उनको विश्वास छ।
मगर सांस्कृतिक संघमार्फत प्राप्त भएको उक्त सामग्री फोनिजसँग सम्वद्ध व्यक्तिहरुलाई वितरण गरिने फोनिज चितवनले जनाएको छ। चितवनमा फोनिजसँग सम्बन्धित पत्रकार तथा सञ्चारकर्मीहरुको संख्या ७५ जना छन्। विशेष गरी बिहीबार प्राप्त सहयोग सामग्री सक्रिय पत्रकार तथा सञ्चारकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए।
























