Breaking News

राष्ट्रिय सभा उपनिर्वाचन अपडेटः ५०८८ मतभारसहित खिमलाल देवकोटा विजयी

Banner

हेटौँडा, जेठ ६–

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कमल चुनाव चिन्हका खिमलाल देवकोटा विजयी भएका छन् ।

देवकोटा ५०८८ मतभारसहित विजयी भएका हुन् । विपक्षी गठबन्धनबाट साझा उम्मेद्वार बनेका देवकोटालाई नेकपा (एमाले)का माधव नेपाल पक्षले साथ दिएपछि विजयी हुन सफल भएका हुन् । नेकपा (एमाले)ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उम्मेद्वार बनाएको थियो ।

बादलले ४०१४ मतभार प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्ण महर्जनले १३२ मतभार प्राप्त गरे ।

आज भएको मतदानमा कुल ३३८ मत खसेको थियो । प्रदेश सांसदतर्फ १०९ मध्ये १०५ मत खसेको थियो भने स्थानीय तहतर्फ २३८ मतदाता मध्ये २३३ मत मात्रै खसेको कार्यालयले जनाएको छ ।

प्रदेश सांसदतर्फ विवेकशील साझाका तीनजना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्। यो पटक विवेकशील ‘नो भोट’ को पक्षमा उभिएको थियो ।

त्यस्तै माओवादीका दोलखाबाट निर्वाचित समानुपातिक सांसद हिमाली गोले मतदानमा सहभागी भइनन्। उनी बिरामी भएर उपस्थिति नभएको बताएकी छन् ।

स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन्। जसमा दोलखाको मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुरका मेयर एवम् नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपप्रमुख कोपिला पण्डित पनि आजको मतदान सहभागी भइनन्। यस्तै धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानका लागि हेटौँडा आएनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>