Breaking News
चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी कोरोना संक्रमणमुक्त, थप १४ प्रहरी संक्रमित

चितवन, जेठ ६-
चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी कोरोना संक्रमणमुक्त भएका छन् । अहिले चितवनमा थप १४ सुरक्षाकर्मीलाई संक्रमण देखिएको छ ।
चितवनका प्रहरी प्रमुख अधिकारीले एक हप्ता अगाडि कोरोनालाई जितेका हुन् । उनले कोरोना आफैमा डरलाग्दो रोग भएकोले सारा विश्वनै आक्रान्त भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ विश्वका शक्ति राष्ट्र पनि कोरोना नियन्त्रणमा सफल भएका छैनन् । हामीले यो महामारीबाट भाग्ने भन्दा पनि डटेर सामना गर्नुपर्छ ।’ उनले कोरोना संक्रमणबाट बच्न आत्मबल बलियो बनाउँदै डाक्टरहरुको सल्लाह बमोजिम औषधिहरुको सेवन गर्नपर्ने नारायणी अनलाइनलाई बताए ।
प्रहरी प्रमुख अधिकारीले भने, ‘घरेलु औषधि पनि कोरोना निको बनाउन प्रभावकारी हुन्छन् । खानपान तथा आहारव्यवहारमा विशेष ध्यान दिनुपर्छ । पानीको बाफ लिएर शरीरलाई सधै तातो राख्नुपर्छ । ध्यान, प्राणायाम जस्तो हल्का शारीरिक अभ्यास पनि कोरोना संक्रमितहरुलाई लाभदायक हुने रहेछ ।’
अधिकारीले कोरोना संक्रमितहरु निको हुनलाई सामाजिक सञ्जालबाट टाढै बस्नुपर्ने सुझाव दिए । उनले भने, ‘ सामाजिक सञ्जालमा नकारात्मक विषयवस्तुहरु प्रसारित हुने भएकोले मनोबल घट्न सक्छ तसर्थ नेगेटिभ कुराहरुबाट टाढा बसेर । सकारात्मक कुराहरु सोच्दै मनोबल बलियो बनाउनुपर्छ ।’
प्रहरी प्रमुख अधिकारी कोरोना संक्रमण मुक्त भए पनि थप १४ सुरक्षाकर्मी संक्रमित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरीका प्रवक्ता सरोज गिरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा तीन जना प्रहरी संक्रमित भएका छन् । त्यस्तै इच्छाकामना गाउँपालिकामा ८ जना, गीतानगरमा १ जना र ट्राफिक प्रहरी २ जना कोरोना संक्रमित भएको नारायणी अनलाइनलाई बताए ।
























