Breaking News
प्रधानमन्त्री ओलीसंगै शिक्षा मन्त्री श्रेष्ठले पनि गरे निर्वाचन आचारसंहिताको उल्लंघन

काठमाडौँ, जेठ ५–
सरकारका मुख्य व्यक्तिहरु नै निर्वाचन आचारसंहितको विरुद्धमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
भोलि (बिहीबार) हुने राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेतर्फका उम्मेदवार रामबहादुर थापालाई जिताउन शिक्षामन्त्री श्रेष्ठले आज (बुधबार) साँझ अपिल जारी गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पनि बुधबार बिहान अपिल जारी गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेका थिए। निर्वाचन आयोगले मंगलबार रातिदेखि नै मौन अवधि सुरु भएको र प्रचारप्रसार गर्न नपाइने जनाएको थियो ।
शिक्षामन्त्री श्रेष्ठ एमालेको वाग्मति प्रदेश राष्ट्रिय सभा निर्वाचन परिचालन कमिटीका संयोजक समेत हुन् । निर्वाचन आयोगले मंगलबार राति १२ बजेदेखि मौन अवधिको आचारसंहिता लागू हुने भन्दै यसअवधिमा चुनाव प्रसारप्रसार गर्न र मत माग्न नपाइने तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट पनि मत माग्न नपाइने जनाएको छ ।
आयोगले बुधबार दिउँसो समेत विज्ञप्ति प्रकाशित गरेर आचारसंहिता पालाना गर्न आग्रह गरेको थियो ।
























