चितवन विशेष
चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई दियो ३० वटा अक्सिजन सिलिण्डर

चितवन, जेठ २-
चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई थप ३० थान अक्सिजन्सहितको सिलिण्डर सहयोग गरेको छ ।
समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर खरिद गरी ठूलो ३० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो ।
ती सिलिण्डर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल लगायतको उपस्थितिमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरिएको हो ।
प्रबासमा रहेर पनि जिल्लावासीको स्वास्थ्यप्रति चिन्तित भएर सहयोग गरेकोप्रति अध्यक्ष अधिकारीले प्रशंसा गरे । उनले अक्सिजनको अभाव भईरहेको समयमा भएको यस सहयोगले उपचारमा ठूलो सहयोग पुग्ने बताए ।
समाजले संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएर सहयोग गर्दै आएको छ ।
यस अघि समाजले अस्पतालले १० वटा अक्सिजनसहित सिलिण्डर सहयोग गरिसकेको छ । घिमिरेले एउटा सिलिण्डरको १७ हजार ५०० रुपैयाँका दरले खरिद गरी सहयोग गरेको बताउँदै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
























