Breaking News
इजरायलमा कार्यरत सुमित्रा भन्छिन्: तेलअभिभमा निरन्तर रकेट पड्किँदा जन्मभूमि चितवन सम्झन्छु

मधुसूदन दवाडी
चितवन, जेठ २-
चितवन दिव्यनगरकी सुमित्रा दवाडी (घिमिरे) विगत ११ वर्षदेखि इजरायलमा केयरगिभरको रुपमा कार्यरत छन् । सुरुमा नारियामा काम गरेकी उनी कामकै सिलसिलामा अहिले प्लोस्टाइनको सीमा क्षेत्र तेलअभिभ सहरमा आइपुगिन् । आजभोलि उनी इजरायल र प्यालेस्टाइनबीच बढ्दै गएको तनावले रातमा ढुक्कसँग निदाउन पनि पाएकी छैनन् । उनीजस्ता सयौं नेपाली उनले काम गर्ने तेलअभिभमा कार्यरत छन् । हरेक दिनजसो प्यालेस्टाइनले हानेको रकेट र बम आकाशमा निरन्तर पड्किँदा उनको भोक र प्यास नै हराउँछ । सामाजिक सञ्जालमा केही न केही स्टाटस लेखेर रात बिताउँछिन् ।
हिजो आइतबार उनले सामाजिक सञ्जालमा चितवनमा घर, परिवार र आफन्त सम्झँदै एक स्टाटस पोष्ट गरिन्, ‘ रात निकै बितिसक्दा पनि तिम्रा यादहरुले छाडेनन् । अब त निदाउन त त्यस्तै हो । त्यही यादमा उज्यालो होला जस्तो छ ।’ त्यस्तै उनले शनिबार राति स्टाटस लेखिन्, ‘ हमासले तमासा । हे भगवान सुरु भयो अब पट्का पड्कन ।’ इजरायलमा द्वन्द्व चर्किएसँगै निकै पीडा र छटपटीमा उनको दिनरात बित्ने गरेको छ ।
विगत केही दिनयता इजरायल र प्यालेष्टाइनबीच तनाव बढ्दै गएपछि सुमित्राजस्तै कयौं इजरायलमा कार्यरत नेपालीहरु पीडामा परेका छन् । कतिबेला कता बम खस्छ भन्नै सकिँदैन । सुमित्राले नारायणी अनलाइनलाई भनिन्, ‘ म इजरायल बसेको पनि ११ वर्ष भयो आजसम्म यस्तो त्रासमा बस्नु परेको थिएन । म बसेको तेलअभिभ शहरमा मेरो नजिकै एक भारतीय महिलासँगै दुई जना बच्चा मारिएपछि मलाई पनि डर लाग्न थालेको छ । कतिबेला के हुन्छ भन्न सकिँदैन । घरको याद आइरहन्छ । छोराछोरी, बुबाआमा, भाईबहिनीलाई फोन गरिरहन्छु ।’
भरतपुर महानगरपालिका–२६ दिव्यनगर घर भएकी उनको श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । छोरी १६ वर्षकी भइन् अहिले १० कक्षामा पढ्दै छन् भने छोरा दिव्यनगरमा नै स्नातक पढ्दै छन् । तीन–चार वर्षको छोराछोरी छाडेर उनी रोजगारीको खोजीमा इजरायल आइन् । उनले भनिन्, ‘ परिवारलाई आर्थिकरुपले केही राम्रो बनाउन बाध्यता र सुन्दर सपना बोकेर इजरायल आएकी हुँ । कमाइ पनि राम्रो छ । राम्रोसँग ओभरटाइम काम गर्नेहरुको त मासिक नेपाली पाँच लाखसम्म हुन्छ । मेरो पनि मासिक न्यूनतम् दुई लाख त सजिलै कमाइ हुन्छ ।’ सकभर इजरायल सरकारले आफ्नो नागरिकलाई सुरक्षित राख्नको लागि घरबाटै भाग्ने गरी बङ्करहरु बनाएको उनले अनुभव सुनाइन् ।
मे १० देखि जेरुसेलम, दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिब लगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको संख्यामा रकेट आक्रमण भइरहेका छन् र यो क्रम रोकिएको छैन । यसले सबैलाई त्रसित बनाएको छ । परिस्थितिलाई नजरअन्दाज नगर्न तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न इजरायलवासी सबै नेपालीहरुमा त्यहाँको नेपाली दूताबासले अनुरोध गरेको छ । खासगरी साइरन बज्नासाथ घर भित्र भएको मानिस बङ्कर, भ¥याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान पनि दूतावासले भनेको छ ।
घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा नजिकैको बङ्करमा पुगिहाल्न उपलब्ध नभएमा जहाँ भए पनि त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्न सहरमा सुरक्षा अपनाउन दूतावासले सूचना जारी गरेको सुमित्राले बताइन् । उनले असजिलो परेमा नेपाली दूताबासमा फोन गर्न पनि नम्बरसहित सूचना जारी गरेको जानकारी दिइन् । इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलको तेलअभिभ सहरमा लक्षित गरी निरन्तर मिसाइल प्रहार गरिरहेको छ । यस्तो अवस्थामा बाध्यताबस रोजगारीको खोजीमा विदेशिएकी सुमित्रा चितवनमा आफ्नो घर, परिवार, बुबा,आमा र सबै आफन्तहरु सम्झिएर दिन बिताउन बाध्य छन् ।

























